अबको निकास लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ, राष्ट्रपतिले पहलकदमी लिनुपर्छ : एमाले
काठमाडौँ : नेकपा (एमाले) अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ। एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै यसको पहल लिन समेत राष्ट्रपतिलाई आग्रह गरेका छन्। ‘प्रधानमन्त्रीको राजिनामापछि अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई संवोधन गरिनुपर्छ। यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं।’ त्यस्तै संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ-आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका भूमिका खेल्नुपर्ने एमालेको मत छ।
