नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद्, दल र जनता एकजुट हुनुपर्छ : सांसद बडू
काठमाडाैँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद्, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबिचको व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबिच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गरे । उनले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरूसँगको कुटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिए । उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको स्पष्ट समेत पारे ।
