खानेपानी मन्त्री यादवले नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउने आह्वान गरे
वीरगञ्ज – खानेपानी मन्त्री प्रदिपकुमार यादवले नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ र सौहार्दपूर्ण बनाउनको आवश्यकता औंल्याउनुभएको छ। नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५ को समापन कार्यक्रममा सम्बोधन गर्दै उहाँले कन्क्लेभले पारित गरेको घोषणापत्रले दुवै मुलुकबीच सौहार्दपूर्ण वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धहरू मजबुत बनाउन साना विवादलाई बढावा दिन नहुने बताउनुभयो। मन्त्री यादवले भारतीय मिडियामा नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्ने अफ्वाह फैलाउने समाचारहरूको आलोचना गर्दै, दुवै मुलुकका जनताबीचको सम्बन्ध सहज र सुमधुर राख्न आग्रह गर्नुभयो।
