ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१ प्रतिशत सेयर खरिद गर्ने
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ। भदौ १० गते (मंगलबार) दुबै कम्पनीबीच यससम्बन्धी सम्झौता सम्पन्न भएको हो। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि म्याग्दी र मुस्ताङ्ग जिल्लामा पर्ने कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त कालीगण्डकी गर्ज हाइड्रोपावर आयोजना विकास र निर्माण गर्दैछ। यस परियोजनाले विद्युत उत्पादनको अनुमति पहिले नै प्राप्त गरिसकेको छ। आयोजनाको अनुमानित लागत करिब रु. ३९ अर्ब ५० करोड रहनेछ। सो लागतमा ऋण र स्वपूँजीको अनुपात ७५:२५ रहने व्यवस्था गरिएको छ।
