निजी विद्यालय सञ्चालकद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । निजी तथा आवासीय विद्यालय सङ्घ नेपाल (प्याब्सन) र नेशनल प्याब्सनलगायतका संस्थाले संयुक्त पत्रकार सम्मेलनमार्फत शिक्षा विधेयक २०८० का केही प्रावधानविरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र नेशनल प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले बुधबार आयोजित पत्रकार सम्मेलनमा आन्दोलनको स्वरूपबारे जानकारी दिएका थिए । उनीहरूको भनाइमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलरत विद्यालय शिक्षा सम्बन्धी विधेयकमा निजी विद्यालयहरूको योगदानलाई कमजोर बनाउने र अस्तित्वमै संकट ल्याउने खालका प्रावधानहरू रहेका छन् ।
