SHARE
Samata Press · सोमबार १५ असार २०८३ १०:४६ PM · 1 मिनेट पढाइ

सहसचिव दीपक विकलाई राहदानी विभागको महानिर्देशकको जिम्मेवारी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले सहसचिव दीपक विकलाई राहदानी विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । मन्त्रालयका अनुसार राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भई उनी निलम्बनमा परेपछि रिक्त रहेको पदमा विकलाई नियुक्त गरिएको हो । परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्री स्तरीय निर्णयमार्फत मन्त्रालयमा कार्यरत सहसचिव विकलाई विभागको नेतृत्व दिने निर्णय गरेका हुन् । विक यसअघि परराष्ट्र मन्त्रालयमै कार्यरत थिए । उनी २०८१ चैत १४ गते खुला प्रतिस्पर्धाबाट सहसचिव पदमा सिफारिस भएका हुन् । सहसचिवमा सिफारिस हुनुअघि उनी मन्त्रालयमै शाखा अधिकृतका रूपमा कार्यरत थिए । खुला प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल विक परराष्ट्र सेवामार्फत निजामती सेवामा प्रवेश गरेका हुन् । उनी अछामको चौरपाटी गाउँपालिका स्थायी घर भएका हुन् । परराष्ट्र सेवामा दलित समुदायबाट एक्ला सहसचिव रहेका विक राहदानी विभागको महानिर्देशक बन्ने पनि दलित समुदायबाट पहिलो व्यक्ति हुन् ।