विप्लवप्रति असन्तुष्टि जनाउँदै थप एक केन्द्रीय सदस्यसहित ११ नेताले पार्टी त्यागे
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का एक केन्द्रीय सदस्यसहित ११ जना नेताले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन् । उनीहरूले पार्टी महासचिव ‘विप्लव’को नेतृत्वमा पार्टीले ऐतिहासिक कार्यभार पूरा गर्न नसक्ने निष्कर्ष निकाल्दै सामूहिक रूपमा जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् । सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले १२ वर्षअघि तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट विद्रोह गरी विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन गरिएको स्मरण गर्दै वर्षौँदेखिको सङ्घर्षका विभिन्न मोर्चा प्रयोग गरिए पनि अपेक्षित रूपमा क्रान्ति सम्पन्न हुन नसकेको उल्लेख गरेका छन् । विज्ञप्तिमा वर्तमान अवस्थामा साम्राज्यवादको हस्तक्षेप तीव्र बन्दै गएको, राष्ट्रिय स्वाधीनता इतिहासकै गम्भीर सङ्कटमा परेको र यस्तो अवस्थामा माओवादी धारासहित समग्र कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण, एकता, पुनर्गठन र केन्द्रीकृत गर्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको उल्लेख गरिएको छ । तर महासचिव विप्लव स्वयं उक्त कार्यदिशाबाट पछि हट्दै गएको र उनकै नेतृत्वमा ऐतिहासिक कार्यभार पूरा हुने अवस्था नदेखिएको निष्कर्षमा आफूहरू पुगेको उनीहरूको भनाइ छ । त्यसैले आफूहरू आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जिम्मेवारी त्याग गर्नेमा केन्द्रीय सदस्य प्रमीला राउत, विभिन्न जिल्लाका जिल्ला सदस्य दलमाया किङरिङ, ल्वाङसिंह पाख्रिन, रामबहादुर कार्की, शेरबहादुर वाइबा, ज्ञानबहादुर राउत, रामबहादुर घलान, कान्छामान गोले, किशोर महतो र कमलेश साह रहेका छन् । यद्यपि, उनीहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा नयाँ राजनीतिक यात्रा, अर्को दलमा प्रवेश वा नयाँ सङ्गठन गठनबारे भने केही उल्लेख गरेका छैनन् ।
