SHARE
Samata Press · आइबार​ १४ असार २०८३ १०:०२ PM · 1 मिनेट पढाइ

मङ्गलवार र बुधवार भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहीँ असार १६ गते मङ्गलवार र १७ गते बुधवार देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागले मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । यस्तै देशका पहाडी तथा तराईका धेरै स्थान र हिमाली भूभागका केही स्थानमा पनि मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ । प्राधिकरणले यस्तो मौसमका कारण आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्र्यान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । खोला, खहरे तथा नदी आसपास यात्रा गर्ने, पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने तथा नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । डुबानको जोखिम भएका बस्तीका नागरिकलाई सुरक्षित र उँचो स्थानको पहिचान गरी आवश्यक पर्दा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । त्यस्तै, विपद् पूर्व तयारी तथा उद्धारमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी उच्च सतर्क अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्को सहायता माग्न ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर आवश्यक परेमा प्रयोग गर्न आग्रह गरेको छ । साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्व सूचना तथा चेतावनी नियमित रूपमा अवलोकन गर्न पनि अनुरोध गरिएको छ ।