SHARE
Samata Press · आइबार​ १४ असार २०८३ ०७:०८ PM · 1 मिनेट पढाइ

गायक शिव परियार ‘म्युजिक खबर दशक सङ्गीत सम्मान-२०८२’ बाट सम्मानित

काठमाडौं । नेपाली सङ्गीतका चर्चित गायक शिव परियार ‘म्युजिक खबर दशक सङ्गीत सम्मान-२०८२’ बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित १३औँ म्युजिक खबर म्युजिक अवार्ड-२०८२ समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झाले उनलाई उक्त सम्मान प्रदान गरेका हुन् । नेपाली सङ्गीत क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका परियारलाई आधुनिक, चलचित्र, गजल तथा लोक-पप सङ्गीतमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । सम्मान प्राप्त गरेपछि गायक परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘म्युजिक खबर परिवार’, निर्णायक मण्डल तथा आफूलाई निरन्तर माया र साथ दिने सम्पूर्ण श्रोता-दर्शकप्रति आभार व्यक्त गरेका छन् । उनले यस सम्मानले नेपाली सङ्गीतप्रतिको आफ्नो जिम्मेवारी अझ बढाएको र आगामी दिनमा अझ समर्पित भएर सङ्गीत यात्रालाई अघि बढाउने प्रेरणा मिलेको उल्लेख गरेका छन् । परियारले फेसबुकमा लेखेका छन्, 'यो सम्मान मेरो मात्र होइन, यहाँहरूको माया र साथको प्रतिफल हो । मेरो आवाजलाई यति धेरै माया दिनुभएकोमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु । नेपाली सङ्गीतप्रति सदैव जिम्मेवार रहँदै आफ्नो साङ्गीतिक यात्रा निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।' गायक परियार दुई दशकभन्दा बढी समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय छन् । उनका स्वरमा आधुनिक, गजल, चलचित्र तथा लोक-पप विधाका सयौँ गीत रेकर्ड भएका छन् । उनले हालसम्म १२ वटा सङ्गीत एल्बम सार्वजनिक गरिसकेका छन् । उनका ‘पिउँदिन भन्दा भन्दै’, ‘आँशुको अर्थ के थाहा’, ‘ज्यानै दिन्छु भन्थे’ र ‘दिल परानी’ लगायतका गीत लोकप्रिय छन् । त्यस्तै ‘मैदान’, ‘कोही मेरो’ र ‘ब्याच नम्बर १६’ लगायत दर्जनौँ नेपाली चलचित्रका गीतमा पनि उनले स्वर दिएका छन् । यस वर्षको ‘म्युजिक खबर दशक सङ्गीत सम्मान–२०८२’ बाट चर्चित गायिका कालिका रोका पनि सम्मानित भएकी छन् ।