SHARE
Samata Press · आइबार​ १४ असार २०८३ ०७:३० PM · 1 मिनेट पढाइ

जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले समयानुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यास परिष्कृत गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानुपर्ने बताइन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ मा उहाँले कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा उभिएको धारणा राखिन् । कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित नभएको उनको भनाइ छ । उनले जनसम्बन्धलाई सुदृढ गर्दै समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताए । “रूपान्तरण हुँदै गरेको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवापुस्तामा नयाँ आकाङ्क्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिष्ट आन्दोलनले आफ्ना मूल आदर्श बनाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “समय अनुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यक छ ।” जनविश्वास पुनःआर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्ति मात्र नभई समयानुकूल उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा नीहित हुनुपर्ने उनको कथन छ । जनताको हित विपरित कमजोरी गरेका छैनौँः अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितविपरीत गएर आफूहरूले गल्ती कमजोरी नगरेको बताए । उनले जनतामा अनावश्यक भ्रम छरिएको टिप्पणी गरे ।  अध्यक्ष ओली भने, “हामीले गलत काम गरेर, देशकाविरुद्ध काम गरेर विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, बढेको होइन ।” आफ्नो पार्टीको नीति तथा कार्यक्रम र सही र समसामयिक भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने आवश्यकता औँल्याए । कार्यगत एकताका माध्यमबाट अगाडि बढ्नुपर्ने धारणा राख्दै उनले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक क्षेत्रमा एमालेले सही नीति निर्धारण गरेका दाबी गरे । अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज)लाई समयानुकूल बनाइँदै लैजाने धारणा राखे ।  अध्यक्ष ओलीले भने, “समृद्धिसम्म हाम्रो यात्रा हो । हाम्रो यात्रा समृद्ध नेपाल सुखी नेपालीसम्मको हो । हाम्रो गन्तव्य ठीक छन् ।” रचनात्मक र शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्ने र धुलो टकटक्याउँदै उठ्ने उनको भनाइ थियो । फाउण्डेशनले वर्ष २०८२ को ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’ लाई प्रदान गरियो । पुरस्कारको राशि रु दुई लाख रहेको छ ।