सांस्कृतिक समाज नेपालको दोस्रो महाधिवेशनबाट शोभा थापा अध्यक्ष निर्वाचित
काठमाडौँ । सांस्कृतिक समाज नेपालको दोस्रो महाधिवेशनबाट गायिका शोभा थापा अध्यक्षमा निर्वाचित भएकी छन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘संस्कृतिमा काली-कर्णाली’ दोस्रो महाधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमबाट थापा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् । उपाध्यक्षमा दिपा रोकाया, महासचिव शुकदेव अधिकारी, सचिव दीपक भण्डारी र निशा रावल र कोषाध्यक्ष निरुता खत्री चयन भएका छन् । सदस्यमा पुष्प कुँवर, देवेन्द्र खड्का, देवबहादुर बोहरा, विरही बम, जस रावल, भावना चन्द चयन भएका छन् । कार्यक्रम समाजका निवर्तमान अध्यक्ष तथा गायक-सर्जक रामप्रसाद अवस्थीको अध्यक्षतामा तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लीला भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव अमृत खातीले गरेका थिए । महाधिवेशनमा नेकपा (एमाले) प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक ऐन महर, प्रतिनिधिसभा सदस्य पदमबहादुर शाही, प्राज्ञ टीका पुन, नन्दा बस्याल, काशी विक, गायक उमाशङ्कर जोशी, टेक बोगटी, केपी न्यौपाने, हेमराज अधिकारीलगायत विभिन्न क्षेत्रका कलाकार, सामाजिक अभियन्ता, पत्रकार, कानुन व्यवसायी तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै निवर्तमान अध्यक्ष रामप्रसाद अवस्थीले संस्थाको नेतृत्वमा रहँदा ऐतिहासिक र प्रशंसनीय काम गरेको उल्लेख गरेकी छन् । उनले संस्थाको जिम्मेवारी आफूलाई सुम्पिएकोमा अवस्थीप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा नेपाली कला, संस्कृति, भाषा, साहित्य तथा मौलिक परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएकी छन् । थापाले महाधिवेशन सफल बनाउन सहयोग पुर्याउने बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्का, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष प्रकाश कटवाल, तामाङ चलचित्र सङ्घ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङ, सडक बोर्ड नेपालका दिलबहादुर रावत, बुढीनन्दा नगरपालिकाका जनक बोहरालगायत सहयोगी, आजीवन सदस्य, समाजसेवी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन् । उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेकी छन् ।
