रास्वपा महाधिवेशनको मत परिणाममा अनियमितताको आरोप, पूजा बास्तोला सर्वोच्च अदालत जाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनको मत परिणामप्रति असन्तुष्टि जनाउँदै उम्मेदवार पूजा बास्तोलाले सर्वोच्च अदालत जाने घोषणा गरेकी छन् । शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै बास्तोलाले आफूले प्रतिनिधिबाट ९१३ मत प्राप्त गरेको र महिलातर्फ शीर्ष दुई तथा खुलातर्फ शीर्ष पाँचभित्र पर्ने मत प्राप्त गरे पनि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा आफूभन्दा कम मत ल्याएका उम्मेदवार निर्वाचित हुँदा आफूलाई विधि, प्रक्रिया र स्थापित मापदण्ड विपरीत बाहिर राखिएको दाबी गरेकी छन् । उनले आफूलाई विश्वास गरेर मतदान गर्ने प्रतिनिधिप्रति आभार व्यक्त गर्दै यो विषय आफ्नो व्यक्तिगत जित–हार वा पदको नभई लोकतान्त्रिक प्रक्रिया, सुशासन र संस्थागत न्यायसँग जोडिएको मुद्दा भएको उल्लेख गरेकी छन् । बास्तोलाले लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिने, मत परिणामभन्दा फरक नतिजा सार्वजनिक हुने र त्यसलाई स्वीकार गर्न दबाब सिर्जना गरिने अवस्था लोकतान्त्रिक संस्कारका लागि गम्भीर चुनौती भएको बताएकी छन् । उनले लोकतन्त्रको आधार परिणाम मात्र नभई परिणामसम्म पुग्ने प्रक्रियाको विश्वसनीयता भएको उल्लेख गर्दै प्रक्रिया निष्पक्ष भए जित्नेले गर्वका साथ जित स्वीकार गर्न र हार्नेले सम्मानका साथ परिणाम स्वीकार गर्न सक्ने धारणा व्यक्त गरेकी छन् । तर प्रक्रिया नै अन्यायपूर्ण भए त्यस विरुद्ध आवाज उठाउनु आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ । बास्तोलाका अनुसार उनले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गरिसकेकी छन् । तर आयोगबाट चित्तबुझ्दो जवाफ नआएको र उल्टै धम्कीपूर्ण शैलीमा विषयलाई दबाउने प्रयास भएको अनुभव गरेपछि अब सर्वोच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने निर्णय गरेकी हुन् । उनले आफ्नो सङ्घर्ष व्यक्तिगत स्वार्थका लागि नभई आफूलाई विश्वास गरेर मत दिएका ९१३ प्रतिनिधिको मतको सम्मान, सही प्रक्रिया, पारदर्शिता र संस्थागत न्यायको पक्षमा भएको स्पष्ट पारेकी छन् । विज्ञप्तिको अन्त्यमा उनले 'पदभन्दा ठुलो पद्धति हुन्छ, र म पद्धतिको पक्षमा अन्तिमसम्म उभिनेछु' भन्दै कानुनी प्रक्रियामार्फत न्यायको खोजी जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
