SHARE
Samata Press · शुक्रबार​ १२ असार २०८३ १०:०३ PM · 1 मिनेट पढाइ

विप्लवलाई अर्को झट्का: सात केन्द्रीय सदस्यसहित ३२ नेता कार्यकर्ताले गरे पार्टी परित्याग

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) मा आन्तरिक असन्तुष्टि झन् चुलिएको छ । पार्टीका महासचिव  ‘विप्लव’ले सचिवालय सदस्य उमा भुजेल (शिलु)लाई सबै जिम्मेवारीबाट पदमुक्त गरेको दुई दिन नबित्दै पार्टीभित्रबाट सामूहिक बहिर्गमनको शृङ्खलाले निरन्तरता पाइरहेको छ । यसअघि पार्टीका पोलिटब्युरो सदस्य एवं केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुसाल, पोलिटब्युरो सदस्य वसन्त श्रेष्ठ तथा पोलिटब्युरो सदस्य एवं समाजवादी मधेसी मुक्ति मोर्चाका केन्द्रीय संयोजक विनोद उपाध्याय तथा थप १२ जना केन्द्रीय सदस्यले सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका थिए । उनीहरूले महासचिव विप्लवको नेतृत्वमा अब क्रान्ति सम्भव नरहेको निष्कर्षसहित पार्टीका सबै जिम्मेवारी त्यागेको जनाएका थिए । तीन शीर्ष नेतापछि थप १२ जना केन्द्रीय सदस्यको राजीनामापछि पार्टीभित्रको असन्तुष्टि अझ स्पष्ट पार्दै शुक्रवार ३२ जना नेता तथा कार्यकर्ताले संयुक्त विज्ञप्तिमार्फत पार्टी र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन् । उनीहरूले सार्वजनिक गरेको घोषणापत्रमा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट आन्दोलन गम्भीर सङ्कटमा रहेको उल्लेख गर्दै पार्टी नेतृत्वले आत्म समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । तर नेतृत्वले वैचारिक बहसलाई निषेध गर्दै फरक मत राख्ने नेता–कार्यकर्तामाथि कारबाहीको नीति अवलम्बन गरेपछि आफूहरू पार्टीमा बसिरहनुको औचित्य समाप्त भएको निष्कर्षमा पुगेको विज्ञप्तिमा उल्लेख छ । घोषणापत्रमा पार्टी नेतृत्वले सामूहिक नेतृत्व, विधि र विधानभन्दा व्यक्तिगत निर्णयलाई प्राथमिकता दिएको, पार्टीभित्र लोकतान्त्रिक बहसको वातावरण समाप्त पारेको तथा कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको आवश्यकतालाई बेवास्ता गरेको आरोप लगाइएको छ । उनीहरूले पार्टीबाट अलग भए पनि राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, जनताको अधिकार र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो प्रतिबद्धता भने कायमै रहने स्पष्ट पारेका छन् । संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य शरद ओली र जया पौडेल, केन्द्रीय प्रतिनिधि समिति सदस्य विष्णु तिवारी मुकेश तिवारी, शङ्कर ज्ञवाली, मदन थारु, तुलबहादुर जिसी शिशिर, मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अजमाहाभद्र मियाँ र केन्द्रीय सदस्य जाहेरा बानूँ रहेका छन् ।  यस्तै जिल्ला विशेष समिति सदस्य विनोद खनाल, जिल्ला सदस्य दीपक पौडेल, दशरथ पौडेल, माधव न्यौपाने, खिमलाल पाण्डे, सुदिप तिवारी, अर्जुन यादव, सलिम चुरहिर, सोमनाथ शर्मा, छविलाल आचार्य, जिल्ला सचिवालय सदस्य इन्द्रकुमार यादव प्रदेशी, अविराज यादव, महेन्द्र टण्डन रहेका छन् ।  यस्तै पालिका सदस्य सञ्जय तिवारी, शशि पाण्डे, नन्दलाल लोध, रामायण लोहा, राधे पासवान, मुने यादव, रामजी भर, अनरजीत यादव, राम बचन यादव, रामप्रसाद लोध, विमल क्षेत्री र नारायण पौडेल र चन्द्र पाण्डेले पनि संयुक्त रूपमा पार्टीबाट अलग भएको घोषणा गरेका छन् । विप्लव नेतृत्वको पार्टीबाट बाहिरिने क्रम निरन्तर जारी रहेको छ । करिब एक महिना यता मात्रै महासचिव विप्लवका विश्वासपात्र मानिएका केन्द्रीय सदस्य चन्द्र खड्का  ‘असल’ले पार्टी परित्याग गरेका थिए ।  त्यसपछि सचिवालय सदस्य उमा भुजेललाई जिम्मेवारीबाट हटाइएपछि असन्तुष्टि थप चर्किएको हो । लगत्तै तीन जना पोलिटब्युरो सदस्यले पार्टी त्यागे भने त्यसको केही समयमै १२ जना केन्द्रीय सदस्यले संयुक्त रूपमा पार्टी छाड्ने घोषणा गरेका थिए । पार्टी परित्याग गर्ने अधिकांश नेताले महासचिव विप्लवको नेतृत्वमा पार्टीभित्र वैचारिक बहसको वातावरण समाप्त भएको, फरक मत राख्नेलाई निष्कासन वा जिम्मेवारीमुक्त गर्ने प्रवृत्ति बढेको तथा कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकताबारे उठाइएका सुझावलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । अहिलेको राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई विभाजन होइन, एकता र पुनर्गठन आवश्यक छ । तर नेतृत्व त्यस दिशामा अघि बढ्न तयार नदेखिएकाले पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको पार्टी छोड्नेको निष्कर्ष छ ।  लगातार शीर्ष तहदेखि तल्लो तहसम्मका नेता-कार्यकर्ता बाहिरिन थालेपछि विप्लव नेतृत्वको नेकपा (माओवादी) भित्रको आन्तरिक सङ्कट झन् गहिरिँदै गएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । पार्टी नेतृत्वले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । तर केही दिनयता देखिएको सामूहिक बहिर्गमनले सङ्गठनभित्रको असन्तुष्टि अब व्यक्तिगत तहमा सीमित नरही संरचनागत सङ्कटका रूपमा विकसित हुँदै गएको सङ्केत गरेको छ ।