रास्वपाले तोड्यो पुरानो अभ्यास: १०० सदस्यीय केन्द्रीय समितिमा दुई पदाधिकारीसहित ४७ प्रतिशत महिला
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै महिला प्रतिनिधित्वको नयाँ कीर्तिमान कायम गरेको छ । पार्टी सभापतिसहितको १०० सदस्यीय केन्द्रीय समितिमा ४७ जना अर्थात् ४७ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको छ । नेपालको राजनीतिक इतिहासमा केन्द्रीय समितिमा महिलाको सहभागिता संवैधानिक व्यवस्था अनुसारको ३३ प्रतिशतको सीमाभन्दा निकै माथि पुगेर करिब आधा अर्थात् ४७ प्रतिशत पुगेको सम्भवतः यो पहिलो घटना हो । महाधिवेशनको पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तीमध्ये ४७ जना महिला निर्वाचित भएका थिए । दोस्रो चरणमा सभापति, वरिष्ठ नेता र एक उपसभापति बाहेक ६ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । पार्टी विधानअनुसार एक उपसभापति र एक सहमहामन्त्री महिला अनिवार्य निर्वाचित हुने व्यवस्था छ । यद्यपि अहिलेसम्म निर्वाचित पार्टीको सबैभन्दा उच्च तह आठ सदस्यीय पदाधिकारी टिममा दुई जना अर्थात् २५ प्रतिशत मात्रै महिलाको सहभागिता पुगेको छ । तर एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र एक सह कोषाध्यक्ष पार्टी सभापतिले मनोनीत गर्ने व्यवस्था भएकाले मनोनीत गर्दा महिलालाई ३३ प्रतिशत पुर्याउन सकिने अवस्था कायमै छ । निर्वाचनबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम उपसभापति तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएका छन् । यससँगै पार्टी सभापतिसहितको १०० सदस्यीय केन्द्रीय समितिमा महिलाको सङ्ख्या ४७ कायम भएको हो । खुला प्रतिस्पर्धामै महिलाको प्रभावशाली उपस्थिति पहिलो चरणको निर्वाचनमा राष्ट्रिय खुलातर्फ ३२ जना केन्द्रीय सदस्य निर्वाचित हुँदा ९ जना महिला निर्वाचित भएका छन् । खुला प्रतिस्पर्धाबाट महिलाले हासिल गरेको यो सफलता विशेष महत्वको मानिएको छ । खुलातर्फ सर्वाधिक मत ल्याउनेमध्ये दोस्रो स्थानमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम रहेकी छन् । उनी संस्थापक केन्द्रीय सदस्य थिइन् ।
