सक्रान्तिबजार आइपुग्यो नगर बस, कसरी सञ्चालन हुन्छ ?
तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ। गाउँपालिकाद्वारा खरिद गरिएको बस गाउँपालिकाको केन्द्र सक्रान्तिबजार आइपुगेको छ भने आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी केही दिनभित्रै नियमित सेवा सञ्चालन गरिने तयारी गरिएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए। उनका अनुसार प्रारम्भिक चरणमा बस सेवा सक्रान्ति बजार–फिदिम रुटमा दैनिक रूपमा सञ्चालन गरिनेछ। यस सेवाले आठराईका नागरिकलाई सुरक्षित, सहज, भरपर्दो तथा सुलभ यातायात सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ। अध्यक्ष पाहिमले भविष्यमा आठराई रिङरोड पूर्ण रूपमा सञ्चालनमा आएपछि नगर बसलाई दैनिक रूपमा रिङरोड क्षेत्रमा नै नियमित सेवा दिने योजना रहेको जानकारी दिए। हालका लागि नागरिकको आवश्यकता र यात्रु चापलाई मध्यनजर गर्दै फिदिम रुटबाट सेवा सुरु गर्न लागिएको हो। गाउँपालिकाले सञ्चालन गर्न लागेको यो बस सेवा केवल यातायातको साधन मात्र नभई आठराईको समग्र विकास, आर्थिक गतिविधिको विस्तार, व्यापार–व्यवसायको प्रवर्द्धन तथा स्थानीय जनजीवनलाई थप सहज बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले विद्यार्थी, कर्मचारी, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहले आफ्नै पहलमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लाग्नु आठराईका लागि गौरवको विषय बनेको छ। यस कदमले ग्रामीण क्षेत्रमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै “समृद्ध आठराई, सहज आठराई” को अभियानलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ।
