SHARE
Samata Press · बिहीबार ११ असार २०८३ ०५:१९ PM · 1 मिनेट पढाइ

जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, ८०७ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन

काठमाडौं । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २ हजार १ सय ८२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट १७ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालय बाट ३ सय २६ जना, कोशी प्रदेश बाट ३ सय ५ जना, मधेश प्रदेश बाट ५ सय ३९ जना, बागमती प्रदेश बाट ३ सय ६० जना, गण्डकी प्रदेश बाट १ सय ३२ जना, लुम्बिनी प्रदेश बाट ३ सय २० जना, कर्णाली प्रदेश बाट ६३ जना तथा सुदूरपश्चिम प्रदेश बाट १ सय २० जना रहेका छन् । प्रहरीले पक्राउ परेका प्रतिवादीमाथि अदालतबाट तोकिएको ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयन गरेको जनाएको छ । साथै उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ रुपैयाँ जरिवाना समेत असुलउपर गरिएको छ । नेपाल प्रहरीले फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकतामा राख्दै विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । सोही अभियानअन्तर्गत कर्तव्य ज्यान, लागूऔषध कारोबार, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायत विभिन्न फौजदारी तथा आर्थिक अपराधका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई खोजी गरी पक्राउ गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रहरीका अनुसार फरार प्रतिवादी पक्राउ अभियानले अदालतका फैसला कार्यान्वयनमा प्रभावकारिता ल्याउनुका साथै दण्डहीनता न्यूनीकरण, कानुनी शासनको प्रत्याभूति र अपराध नियन्त्रणमा समेत सकारात्मक योगदान पुर्‍याइरहेको छ । नेपाल प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ ।