जेठ महिनामा लागू औषध मुद्दामा १ हजार ३६ जना पक्राउ, ठुलो परिमाणमा लागू औषध बरामद
काठमाडौँ । नेपाल प्रहरीले गत जेठ महिनामा देशभर सञ्चालन गरेको लागू औषध नियन्त्रण अभियानअन्तर्गत १ हजार ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट १ सय ६९ जना, कोसी प्रदेशबाट २ सय १२ जना, मधेस प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय १५ जना तथा लागू औषध नियन्त्रण ब्युरोबाट ५० जना रहेका छन् । उक्त अवधिमा प्रहरीले विभिन्न प्रकारका अवैध लागू औषध समेत बरामद गरेको छ । बरामद गरिएका लागू औषधमध्ये ३ हजार ७ सय ३० किलो २ सय ६५ ग्राम ७ सय १५ मिलिग्राम गाँजा, ७ सय ४६ ग्राम ७ सय ६४ मिलिग्राम चरेस, २ किलो ६ सय ८६ ग्राम १ सय ७६ मिलिग्राम हेरोइन, ९३ किलो ८ सय ३२ ग्राम ८ सय ३७ मिलिग्राम अफिम तथा १ किलो ५ सय ग्राम कोकिन रहेका छन् । त्यसै गरी ८ किलो ७ सय ५१ ग्राम पोलेन, नियन्त्रित लागू औषध डाईजेपाम २ हजार ३ सय ३५ एम्पुल, फेनारगन १ हजार ७ सय ९४ एम्पुल, बुप्रेनोर्फिन १ हजार ९ सय २२ एम्पुल, ट्रामाडोल ४ लाख ६२ हजार २ सय १० ट्याब्लेट, नाइट्राभेट १२ हजार २ सय १४ ट्याब्लेट र स्पास्मो ५ हजार ४ सय ५९ ट्याब्लेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले लागू औषध कारोबार, ओसारपसार तथा दुर्व्यसनसँग सम्बन्धित आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । सोही अभियानअन्तर्गत देशभरका प्रहरी कार्यालयलाई यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखेर परिचालन गरिएको छ । प्रहरीले कारबाहीसँगै रोकथाम र सचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागू औषध उत्पादन, ओसारपसार तथा प्रयोगका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै कानुन कार्यान्वयनसँगै समुदायमा सचेतना अभिवृद्धि गर्ने कार्यलाई समेत सँगसँगै अघि बढाउने जनाएको छ ।
