सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन भइरहेको बताएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आज सञ्चारकर्मीसँगको भेटमा उनले मौसमजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी सरोकारवाला निकायसँग पूर्णसमन्वयका साथ काम प्रारम्भ भइसकेको बताए । महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई विगतभन्दा थप व्यवस्थित बनाउने ढङ्गबाट काम गर्ने प्रयास गरिएको जानकारी दिए । सीमा अपराध नियन्त्रणको सन्दर्भमा जनशक्ति, प्रविधि र परिचालनको चुनौती भोग्नुपरेको उल्लेख गर्दै उनले परिणाममुखी कामका लागि सङ्गठन प्रतिबद्ध रहेको बताए । राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिँदै उहाँले त्यस विषयलाई सङ्गठनले आत्मसात गरेर सरकारको लक्ष्य प्राप्तिमा कटिबद्ध भएर परिचालित भएको बताए । सशस्त्र प्रहरीसम्बन्धी कानुन निर्माणका प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै महानिरीक्षक पौडेलले त्यसबाट कानुनी र नीतिगत स्पष्टता ल्याउने धारणा राखे । उनले आर्थिक सुशासन र पारदर्शीता सरकारको मूल लक्ष्य भएको सन्दर्भमा सङ्गठनभित्रका आर्थिक पारदर्शीता र सुशासनसम्बन्धी गुनासालाई समयमै निराकारण गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पारे । “आन्तरिक सुरक्षालाई मबजुद बनाउने गरी काम भइरहेको छ, अहिले नयाँ कुरा ‘सेटअप’ गर्नेभन्दा पनि भइरहेको कुराबाट कसरी उत्कृष्ट नतिजा दिने भनेर हामीले काम गरिरहेका छौँ”, महानिरीक्षक पौडेलले भने । सरकार र जनताको अपेक्षा पूरा गर्न सशस्त्र प्रहरी बल क्रियाशील रहेका उनको भनाइ थियो । महानिरीक्षक पौडेलले पछिल्लो समय सङ्गठनको नीति, अनुसन्धान तथा योजना निर्देशनालय गठन गरी सङ्गठनका कार्य जिम्मेवारीलाई विगतभन्दा व्यवस्थितरुपमा अघि बढाउने काम थालिएको जानकारी दिए ।
