'रास्वपाले अतिथिको अपमानबारे माफी माग्नुपर्छ’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चितवनमा भइरहेको छ । महाधिवेशनबाट नयाँ विचार, कार्यदिशा र नेतृत्व बनोस्, हाम्रो शुभकामना । महाधिवेशन उद्घाटन समारोहमा अतिथि बोलिरहँदा भएको होहल्ला र बाहिर एक जना प्रतिनिधि खगेन्द्र सुनारले अतिथिको अपमान गर्दै दिएको अभिव्यक्तिले महाधिवेशनकै गरिमा र अस्तित्वमाथि केही प्रश्न उब्जाएको छ । खगेन्द्र सुनारले त अति छुद्र अभिव्यक्ति दिएका छन्, ‘रवि दाइले हिजो बोलाएर उनीहरूलाई स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीको अनुहार कार्यकर्ता, साथीभाइले हेरुन् यिनीहरूलाई, अब तह लगाउने यति बाँकी छन्’ भनेर जो अभिव्यक्ति दिए, त्यो आयोजक समिति र महाधिवेशनकै बेइज्जती हो । यस्ता वैचारिक दरिद्रता पनि प्रतिनिधि हुँदा रहेछन्, विचार, कार्यदिशा र नेतृत्व निर्माणको बहसको स्थलमा । यस्ता राजनीतिक–वैचारिक रोगी पनि प्रतिनिधि हुँदा रहेछन्, महाधिवेशनमा । यस्ता आफै भ्रष्टाचारी, वैचारिक, राजनीतिक र सांस्कृतिक विचलनका प्रतिनिधि पनि हुँदा रहेछन्, रास्वपाको महाधिवेशनमा । खगेन्द्र सुनार एउटा प्रतिनिधि पात्र मात्र हुन्, अरू कति छन्, पूर्व राजनीतिक दललाई राम्ररी थाहा छ । जनतालाई पनि थाहा छ । अझ तिनीहरूको जन्म गाउँका जनतालाई त नालीबेली सबै थाहा छ, ती चैतेको । मञ्चमा बसेकाले ग्राउन्डमा बसेर ताली बजाउने, चिच्याउनेलाई राम्ररी हेरेका छन्, ‘उ त्यो हाम्रो पार्टीमा रहँदा आफ्नो स्वार्थका लागि नेताको वरिपरि घुम्ने, अराजक, चरम महत्त्वाकाङ्क्षी, विभिन्न रूपमा पतन भएको व्यक्ति हो, खरानी ग्याङमा पनि देखिन्थ्यो, आज यहाँ पनि आएछ ’ यस्तै यस्तै लाग्यो, नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत अन्य राजनीतिक दलबाट आउनुभएका अतिथिलाई । हुनु पनि हो, त्यहाँ नअटाएका, खराब मान्छेको भीड बनेको छ, रास्वपा । केही राजनीतिक पृष्ठभूमिबाट, कोही सामाजिक अभियन्ता, एनजिओ र आईएनजीओबाट, कोही स्वार्थका कारण पनि रास्वपा मा झुन्ड बनेका छन् । झन् ठुलो कुरा, जेनजी आन्दोलनको नाममा १३-२८ वर्षका युवालाई हाई ज्याक गरेर जेनजी शहीदको बलिदानमाथि नाफा लिँदै स्वार्थ सिद्ध व्यक्तिको जमात बनेको छ, रास्वपा । देशै खरानी बनाउनेको जमघट बनेको पार्टी हो, रास्वपा । महाधिवेशनबाट खराब प्रवृत्ति र ग्याङको सफाइ गरी साँच्चिकै विचार र राजनीतिक संस्कारसहितको पार्टी बन्न सक्छ कि सक्दैन, यो गम्भीर प्रश्न हो । अहिले यति मात्र भन्न सकिन्छ, सबैको चासो छ । रास्वपाका कार्यकर्ता नयाँ होइनन्, पुरानै पार्टीका कार्यकर्ता, समर्थक हुन् । केही मात्रामा नवयुवा, बेरोजगार युवा, व्यवसायी र पेसाकर्मी व्यक्ति पनि जोडिएका छन् । मूलतः असन्तुष्टिकै समूह हो, रास्वपा । द्वन्द्वात्मक भौतिकवादको नियमभित्रै पर्छ राजनीतिक पार्टीको अस्तित्व पनि । रास्वपा पनि अजम्मरी छैन, अर्कोले त्यसको स्थान लिइहाल्छ । लामो पृष्ठभूमि बोकेको पार्टी होइन, देश र जनताको हितमा लाग्छु भनेर दिलोज्यान दिएर आएका खारिएका कार्यकर्ता नेतृत्वको पार्टी होइन । जनता निर्णायक शक्ति हुन्, हिसाबकिताब राखेका छन् । यो पार्टी पनि लामो समय अस्तित्वमा रहन सक्ने अवस्था देखिँदैन । रास्वपाको गरिमामय महाधिवेशनमा जुन प्रकारले अतिथिको निमन्त्रणा गरियो, आउनुभयो, शुभकामना दिनुभयो । त्यहाँ केही प्रतिनिधिबाट हलमा गरिएको होहल्ला र खगेन्द्र सुनारजस्ताले दिएको अभिव्यक्तिले महाधिवेशनकै बेइज्जती गरेको छ । यति मात्र नभई वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री बालेन साहले दिनुभएको मन्तव्यले पनि अरू दलप्रति प्रतिशोध, बदलासहितको कटाक्षले बुझ्ने सबैलाई नमिठो अनुभूति बनाएको छ । सस्तो लोकप्रियताका लागि अलि बढी बोल्नु ठिक थिएन । बिहानीले दिनको सङ्केत गर्दछ । यस्तो पाराले रास्वपाको अधिवेशनको सकारात्मक सङ्केत देखिँदैन । कार्यक्रममा निमन्त्रणा गरेर अतिथिको अपमान गर्नु कुनै पनि हालतमा सही हुँदैन । रास्वपाले माफी माग्नुपर्छ । (पूर्व मन्त्री एवम् संविधान सभा सदस्य रहेको श्रीपाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् ।
