उमा भुजेल कारबाहीपछि विप्लवको पार्टीमा पहिरो, तीन पोलिटब्युरो सदस्यपछि थप १२ केन्द्रीय सदस्य बाहिरिए
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी)मा आन्तरिक सङ्कट चुलिँदै गएको छ । संविधान सभा सदस्य समेत रहेकी सचिवालय सदस्य उमा भुजेल (शिलु) लाई पार्टीका सबै जिम्मेवारीबाट पदमुक्त गरिएको दुई दिन नबित्दै तीन जना पोलिटब्युरो सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरूबाहेक थप १५ जना केन्द्रीय सदस्य तथा जिम्मेवार नेताले पनि सामूहिक रूपमा पार्टी छाडेका छन् । एक साताअघि मात्रै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का विश्वासपात्र मानिएका केन्द्रीय सदस्य चन्द्र खड्का ‘असल’ ले पार्टी परित्याग गरेका थिए । असलले पार्टी छाडेको केही घण्टापछि मात्रै पार्टी नेतृत्वले उनलाई जिम्मेवारीमुक्त गरिएको विज्ञप्ति जारी गरेको थियो । त्यसयता पार्टीभित्रको असन्तुष्टि झन् सतहमा आएको देखिएको छ । असल भन्दापछि यस अघि सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गर्नेमा पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुसाल, पोलिटब्युरो सदस्य वसन्त श्रेष्ठ र पोलिटब्युरो सदस्य तथा समाजवादी मधेसी मुक्ति मोर्चाका केन्द्रीय संयोजक विनोद उपाध्याय रहेका थिए । उनीहरूले नेतृत्वको कार्यशैली, समीक्षा र बहसलाई निषेध गरिएको, कम्युनिस्ट एकता र संयुक्त मोर्चाको नीतिबाट नेतृत्व आफैँ पछि हटेको तथा फरक मत राख्नेहरूमाथि कारबाही गरिएको आरोप लगाएका थिए । तीन पोलिटब्युरो सदस्यले पार्टी परित्याग घोषणा गरेको दुई दिनपछि शनिवार थप १२ जना केन्द्रीय सदस्य तथा जिम्मेवार नेताले पनि संयुक्त वक्तव्य जारी गर्दै पार्टी र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सामूहिक रूपमा पार्टी छाड्नेमा केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज यान्जिन मगर, पूर्व नवलपरासी जिल्ला इन्चार्ज कमल केसी, सिराहा जिल्ला इन्चार्ज जगत राउत, खिजिदेम्बा पूर्व जिल्ला इन्चार्ज गोपाल भौलन, तनहुँ जिल्ला इन्चार्ज निशान, गोरखा जिल्ला इन्चार्ज कृषित श्रेष्ठ, तामाङ मुक्ति मोर्चाका केन्द्रीय संयोजक पूर्णी लामा (ऐश्वर्य), पाल्पा जिल्ला इन्चार्ज दीपेश राना, ललितपुर जिल्ला इन्चार्ज गिरेन्द्र घिमिरे (विपिन), कपिलवस्तुका पूर्व जिल्ला इन्चार्ज हेमन्त चौधरी, दुवाकोटका पूर्व जिल्ला इन्चार्ज नवीन सुवेदी (विकास) तथा काठमाडौँ उपत्यकाका पूर्व जिल्ला सचिव रवि गौतम रहेका छन् । उनीहरूले पनि पार्टी नेतृत्वले समीक्षा, आत्म समीक्षा र वैचारिक बहसलाई निषेध गरेको, पार्टीलाई सही दिशामा लैजानुपर्ने आवाजलाई कारबाहीमार्फत दबाउन खोजिएको तथा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने ऐतिहासिक जिम्मेवारीबाट नेतृत्व पछि हटेको आरोप लगाएका छन् । उमा भुजेललाई जिम्मेवारीमुक्त गरिएको घटनादेखि सुरु भएको विवाद अब सचिवालय, पोलिटब्युरो र केन्द्रीय समितिसम्म फैलिएको छ । एक साताको अवधिमा केन्द्रीय सदस्य चन्द्र खड्का ‘असल’, तीन पोलिटब्युरो सदस्य र १२ जना केन्द्रीय सदस्य तथा पूर्वजिम्मेवार नेता पार्टीबाट अलग भइसकेका छन् । पार्टी छाड्ने अधिकांश नेताको साझा आरोप नेतृत्वको कार्यशैली, वैचारिक बहसमाथिको नियन्त्रण, कम्युनिस्ट एकताको एजेन्डाबाट पछि हट्नु र फरक मतप्रति असहिष्णुता रहेको छ । महासचिव विप्लवले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन् । तर लगातार शीर्ष तहका नेता बाहिरिन थालेपछि पार्टीभित्रको असन्तुष्टि व्यक्तिगत असहमति मात्र हो वा गहिरो वैचारिक सङ्कटको सङ्केत हो भन्ने प्रश्न थप पेचिलो बनेको छ । १४ वर्षअघि सुरु भएको राजनीतिक यात्राको उपलब्धि, सीमितता र भविष्यको दिशाबारे उठेका प्रश्न अब विप्लव नेतृत्वको पार्टीभित्र मात्रै होइन, समग्र क्रान्तिकारी कम्युनिस्ट धाराभित्र पनि नयाँ बहसको विषय बनेका छन् ।
