बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । राष्ट्रिय योजना आयोगमा आज आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा उहाँले राष्ट्र सेवकलाई अझ बढी जिम्मेवारी दिएर सरकारले देश निर्माणको महाअभियानमा जोड्न चाहेको बताए । “राम्रा, असल र काम गर्ने हुटहुटी भएका राष्ट्र सेवकको साथमा छौँ, खुबी भएका राष्ट्र सेवकलाई संरक्षण गर्छौँ”, अर्थमन्त्रीले भने, “कर्मचारी वृत्तमा ‘खै अन्योल छ, त्रास छ, के हो, नयाँ सरकार’ भन्ने पाउँछु, त्यतातर्फ नलाग्नु होला, तपाईँहरु सेवानिवृत्त हुनुभयो भने पनि खोजीखोजी राज्यको जिम्मेवारीमा ल्याउँछौँ ।” निजामती सेवा र सुरक्षा अङ्ग तथा स्वास्थ्य र शिक्षा क्षेत्रलाई राजनीतिकरण र दलीयकरणबाट ‘डिपार्चर’ गराउने योजनामा सरकार रहेको उल्लेख गर्दै उहाँले ट्रेड युनियन खारेज गरेर त्यसको सुरुआत गरिएको स्पष्ट पारे । विपुल जनादेश प्राप्त वर्तमान सरकारलाई नतिजा देखाउनुपर्ने दबाब रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले भने, “जेठ १६ गतेदेखि नयाँ ‘स्प्रिट’मा काम गरौँ भन्ने नै हो । साउन १ गतेदेखि त गर्नेपर्नेछ, अर्थमन्त्रालयले रुपान्तरणको एजेन्डालाई अघि बढाउनेछ ।” पुँजीगत खर्चको लक्ष्य हासिल नहुने विगतको गलत नजिर आगामी दिन दोहोरिन नहुने बताउँदै उहाँले आगामी वर्ष विगतको नतिजा स्वीकार्य नहुने बताए ।
