उमा भुजेल पदमुक्त भएको दुई दिनमै विप्लवलाई अर्को झट्का, तीन पोलिटब्युरो सदस्यले दिए राजीनामा
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) भित्रको आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा विस्फोट हुन थालेको छ । पार्टीका सचिवालय सदस्य उमा भुजेल (शिलु) लाई सबै जिम्मेवारीबाट पदमुक्त गरिएको दुई दिन नबित्दै पार्टीका तीन जना पोलिटब्युरो सदस्यले पार्टी परित्याग गरेका छन् । पार्टीको पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुसाल, पोलिटब्युरो सदस्य एवं समाजवादी मधेसी मुक्ति मोर्चाका केन्द्रीय संयोजक विनोद उपाध्याय र पोलिटब्युरो सदस्य वसन्त श्रेष्ठले शुक्रवार सामाजिक सञ्जालमार्फत पार्टी र आफूले सम्हाल्दै आएका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । यसअघि एक साताअघि मात्रै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का विश्वासपात्र मानिएका केन्द्रीय सदस्य चन्द्र खड्का ‘असल’ ले पनि पार्टी परित्याग गरेका थिए । असलले पार्टी छाडेको केही घण्टापछि मात्रै पार्टी नेतृत्वले उनलाई सबै जिम्मेवारीबाट पदमुक्त गरिएको विज्ञप्ति जारी गरेको थियो । नयाँ घटनाक्रमले विप्लव नेतृत्वको नेकपा (माओवादी) भित्र वैचारिक बहस, नेतृत्व शैली र सङ्गठनात्मक कार्य पद्धतिलाई लिएर लामो समयदेखि बढ्दै आएको असन्तुष्टि सतहमा आएको सङ्केत गरेको छ । ‘तपाईँको नेतृत्वमा अब क्रान्ति सम्भव छैन': भेषराज भुसाल पार्टीका पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुसालले महासचिव विप्लवकै भनाइ उद्धृत गर्दै आफूले पार्टी छाड्ने निर्णय गरेको बताएका छन् । उनका अनुसार महासचिव विप्लवले हरेक केन्द्रीय समिति बैठकमा ‘यो नेतृत्व र राजनीतिक कार्यदिशाबाट क्रान्ति सम्भव छैन भन्ने लाग्ने कमरेड जिम्मेवारीबाट मुक्त हुनुपर्छ’ भन्ने धारणा दोहोर्याउँदै आएका थिए । भुसालले १२ वर्षसम्म पार्टीमा निशर्त काम गरेको, पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी निर्वाह गरेको र पार्टी तथा क्रान्तिको हितबाहेक अन्य केही नसोचेको उल्लेख गरेका छन् । तर पार्टी खुम्चिँदै गएको, जनआधार कमजोर बन्दै गएको र त्यसबारे गम्भीर समीक्षा गर्नुपर्ने माग नेतृत्वले बेवास्ता गरेको उनको आरोप छ । उनले अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट शक्तिबिच एकता र देशभक्त शक्तिबिच संयुक्त मोर्चा निर्माण आवश्यक भएको उल्लेख गर्दै त्यसबारे बहस गर्न खोज्नेलाई नै कारबाही गरिएको दाबी गरेका छन् । ‘गम्भीर समीक्षा पछि म यो निष्कर्षमा पुगेको छु कि अब तपाईँको नेतृत्वमा क्रान्ति सम्भव छैन,’ भुसालले लेखेका छन्, ‘त्यसैले आजदेखि सङ्गठनात्मक महाधिवेशन आयोजक समिति सदस्य, केन्द्रीय स्कुल विभाग प्रमुखलगायत सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दछु ।’ यद्यपि उनले राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्ति आन्दोलनबाट भने अलग नहुने स्पष्ट पारेका छन् । ‘आत्म समीक्षाको सुझावलाई कारबाहीले जवाफ दिइयो': वसन्त श्रेष्ठ पोलिटब्युरो सदस्य वसन्त श्रेष्ठले पनि पार्टी नेतृत्वले आत्म समीक्षा र कम्युनिस्ट आन्दोलनको पुनर्गठनबारे आएका सुझावलाई गम्भीरतापूर्वक लिन नसकेको आरोप लगाएका छन् । उनले पछिल्लो पार्टी पुनर्गठनपछि १४ वर्षसम्म विभिन्न आन्दोलन र प्रयोग गरिए पनि अपेक्षित परिणाम प्राप्त नभएको बताएका छन् । वर्तमान अवस्थामा समग्र कम्युनिस्ट आन्दोलन रक्षात्मक र सङ्कटग्रस्त अवस्थामा पुगेकाले पुनर्गठन, एकता र सहकार्यका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । श्रेष्ठका अनुसार पार्टीभित्र विभिन्न नेताले यस्तो सुझाव राख्दा नेतृत्वले त्यसमाथि छलफल गर्नुभन्दा असहिष्णु व्यवहार देखायो । विचार राखेकै आधारमा नेता–कार्यकर्तामाथि घोषित र अघोषित कारबाही गरिएको तथा कम्युनिस्ट आन्दोलनको रक्षा सम्बन्धी पहललाई समेत ‘दुष्प्रचार’ गरिएको उनको आरोप छ । ‘यही कारण आजदेखि पार्टी र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको जानकारी गराउँछु,’ उनले लेखेका छन् । श्रेष्ठले पार्टी छाडे पनि जनता र देशको सेवामा आफू निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सङ्गठनलाई ‘निजी धन्दा’ जस्तो बनाइयो,कार्यकर्ताको शोषण हुने अवस्था सिर्जना भयो': विनोद उपाध्यक्ष सबैभन्दा कडा टिप्पणी भने पोलिटब्युरो सदस्य तथा समाजवादी मधेसी मुक्ति मोर्चाका संयोजक विनोद उपाध्यायले गरेका छन् । उपाध्यायले वर्तमान अवस्थामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, कम्युनिस्ट आन्दोलनको रक्षाको चुनौती र निरन्तर टुटफुटको अवस्थाबिच कम्युनिस्ट शक्तिलाई गोलबन्द गर्नु समयको माग भएको बताएका छन् । तर नेतृत्वले बहस र छलफलबाट नै डराएर असहमति राख्नेलाई जिम्मेवारीबाट अलग बनाएको उनको आरोप छ । उपाध्यायले सचिवालय सदस्य उमा भुजेल (शिलु) लाई जिम्मेवारीबाट हटाउने निर्णयको समेत आलोचना गरेका छन् । उनले लामो समयदेखि पार्टीमा योगदान दिँदै आएका नेतामाथि गरिएको कारबाहीले इमानदार कम्युनिस्टलाई निराश बनाएको दाबी गरेका छन् । ‘महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बाट पनि अब क्रान्तिको आशा गर्न सकिँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले पार्टीभित्र वैचारिक बहसलाई निषेध गरिएको, सङ्गठनलाई ‘निजी धन्दा’ जस्तो बनाइएको र कार्यकर्ताको शोषण हुने अवस्था सिर्जना भएको आरोपसमेत लगाएका छन् । यही कारण आफूले महाधिवेशन आयोजक समिति सदस्य, पूर्व पोलिटब्युरो सदस्य तथा समाजवादी मधेसी मुक्ति मोर्चाको केन्द्रीय संयोजक पदबाट राजीनामा दिएको उनले जनाएका छन् । उमा भुजेल प्रकरणपछि चर्कियो विवाद पार्टीभित्रको विवाद उमा भुजेललाई सबै जिम्मेवारीबाट पदमुक्त गरिएपछि थप सतहमा आएको देखिएको छ । भुजेललाई कारबाही गरिएपछि सामाजिक सञ्जाल र पार्टीभित्र नेतृत्व शैली, वैचारिक बहसको वातावरण र सङ्गठन सञ्चालन प्रक्रियालाई लिएर प्रश्न उठ्न थालेका हुन् । अहिले तीन पोलिटब्युरो सदस्यको एकै दिनको बहिर्गमनले ती प्रश्नलाई अझ बलियो बनाएको छ । विशेष गरी पार्टीभित्र समीक्षा, आत्म समीक्षा, कम्युनिस्ट एकता र संयुक्त मोर्चाको विषयमा बहस गर्न खोज्नेलाई कारबाही गरिएको आरोप तीनै नेताको अभिव्यक्तिमा साझा रूपमा देखिन्छ । एक साताको अवधिमा केन्द्रीय सदस्य चन्द्र खड्का ‘असल’ सहित तीन पोलिटब्युरो सदस्य र यसअघि सचिवालय सदस्य उमा भुजेलसँग जोडिएको घटनाक्रमले विप्लव नेतृत्वको नेकपा (माओवादी) भित्र गम्भीर राजनीतिक र सङ्गठनात्मक बहस चलिरहेको सङ्केत गरेको छ । पार्टी नेतृत्वले यी आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । तर लगातार शीर्ष तहका नेता बाहिरिन थालेपछि पार्टीभित्रको सङ्कट असन्तुष्ट व्यक्तिको व्यक्तिगत निर्णय मात्रै हो वा गहिरो वैचारिक मतभेदको परिणाम हो भन्ने प्रश्न थप पेचिलो बनेको छ । आगामी दिनमा विप्लव नेतृत्वले यस विषयलाई कसरी सम्बोधन गर्छ र पार्टीभित्र देखिएको असन्तुष्टिलाई व्यवस्थापन गर्न सक्छ वा सक्दैन, त्यसले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिन्छ ।
