SHARE
Samata Press · बिहीबार ४ असार २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

भारत र चीनको भ्रमणले राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफनो भारत र चीनको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । ‘नयाँ सरकार बनिसकेपछि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै भारत र चीनको भ्रमण, लगायत समकक्षीहरूकोसँगको टेलिफोन वार्ता र अन्य कूटनीतिक गतिविधिहरूबाट राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको छ,’ मन्त्री खनालले भने । मन्त्री खनालले आफनो मन्त्रालयलाई विनियोजन गरिएको बजेटको अधिकतम उपयोग गर्दै तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रुपमा सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको दुई पक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तराष्ट्रिय सहयोग प्रवर्द्धन लगायतका महत्त्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धि कार्यहरू सम्पन्न गरेको उनको भनाइ थियो । ‘आगामी आर्थिक वर्षका लागि मन्त्रालयका र अन्तर्गतका निकायका लागि कूल ८ अर्व ७३ करोड  बजेट स्विकृत भएको छ । विनियोजित बजेटको अधिकतम उपयोग गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयलाई तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रुपमा सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको दुई पक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन लगायतका महत्वपूर्ण भ्रमण र भेटघाट सम्बन्धि कार्यहरू सम्पन्न गरेको छ ।’ मन्त्री खनालले नयाँ सरकारले कुटनीतिक गतिविधिलाई तीव्रता दिएको पनि बताए ।