मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेरको छ : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिए । औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताए । उनले सम्भावित संकटको अवस्थामा छिटो काम गर्नेगरी संयन्त्र निर्माण गरिएको पनि जानकारी दिए । विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाइ छ । ‘विपद् व्यवस्थापनमा हाम्रो पूर्वतयारी राम्रै छ, त्यही अनुसारमा सुरक्षा निकायहरू पनि खटाइएको छ । त्यही अनुसारमा डिफरेन्ट को–लिड, लिडहरूलाई पनि हामीले निर्देशन दिएका छौं,’ उनले भने, ‘यसपाली मन्त्रीको निरीक्षण भन्दापनि जनताको सुरक्षाको लागि हेलिकप्टरदेखि लिएर सबै कुराहरू खटाउने हाम्रो योजनामा राखिराखेका छौं ।’ मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ । ‘जेन–जी आन्दोलनको टाइममा पनि मैले रेस्पोन्ड गर्दाखेरि धेरैजनाले चाहिँ मेरो त्यतिखेर हैसियत छैन, भनेर प्रश्न गरेका थिए । किन त्यो विपदको ठाउँमा गएर बसेर कुरा गरेको भन्ने प्रश्नहरू पनि आए । तर त्यतिखेर पनि रेस्पोन्ड एकदम राम्रोसित भएको थियो,’ उनले भने, ‘हामीले नागरिकको ज्यान बचाउन जोसुकैले सहयोग गर्न सक्छौं ।
