“कुर्सीप्रेमी होइन, जनताको सेवक हुँ” – मुख्यमन्त्री सिंह
वीरगंज — मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। सोमबार बारा जिल्लाको कलैयामा आयोजित पार्टी प्रवेश तथा सभा कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले जनमत पार्टीको नेतृत्वमा बनेको सरकारविरुद्ध निरन्तर अफवाह फैलाउनेहरू सक्रिय रहेको टिप्पणी गरे। “जनमतको नेतृत्वमा सरकार बनेदेखि नै आज ढल्छ, भोलि ढल्छ भन्ने हल्ला फैलाउनेहरू सक्रिय छन्,” उनले भने, “तर सरकारले जनताको पक्षमा काम गर्दै १३ महिना सफलतापूर्वक पार गरिसकेको छ।” मुख्यमन्त्री सिंहले सरकार जनताको हितमा क्रियाशील रहेको बताउँदै आफू कुर्सीप्रेमी नभएको स्पष्ट गरे।
