प्रभु साह भन्छन् : रास्वपाको कोर टिम नै बालेनलाई असफल बनाउन लागिरहेको छ
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सरकार बनेको ६ महिना नबित्दै प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने प्रयास भइरहेको उनको दाबी छ । शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले वर्तमान सरकारलाई अन्य दलबाट खतरा नभए पनि रास्वपाभित्रैबाट असफल बनाउने प्रयास भइरहेको आरोप लगाए । त्यसबारे जनताले छिट्टै थाहा पाउने उनको भनाइ छ । रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र रास्वपाका पूर्वउपसभापति तथा वर्तमान सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउन मोर्चाबन्दी गरेको साहले दाबी गरे । उनले लामिछानेको यसअघि भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले धार्मिक यात्राका लागि पुनः भारत गएको प्रसङ्गलाई शङ्काको दृष्टिले हेर्नुपर्ने बताए । अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै उनले रास्वपाको कोर टिमको पटकपटकको भारत भ्रमणलाई सामान्य रूपमा लिन नहुने टिप्पणी गरे । रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजेको साहको आरोप छ । उनले त्यसप्रति सजग रहन सुझाव दिए । रास्वपाको पार्टी पङ्क्ति चुनावमा मात्रै केन्द्रित भएको र देशबारे चिन्ता नगरेको पनि उनले आरोप लगाए । ‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ । चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो । देश र जनताबारे यिनीहरूलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ,’ साहले भने । उनले लामिछानेसमर्थित कार्यकर्ताले सामाजिक सञ्जालमा गालीगलौज गरेर वातावरण दूषित बनाएको आरोप पनि लगाए । सामाजिक सम्बन्धको महत्त्व नबुझ्दा त्यस्तो व्यवहार देखिएको उनको टिप्पणी छ ।
