SHARE
Samata Press · शनिबार २४ असो २०८३ ०७:२३ PM · 1 मिनेट पढाइ

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली । सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा १८ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।  विशेष सूचनाका आधारमा यही असोज २३ गतेका दिन पञ्चपुरी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी निरीक्षक भूपेन्द्र शाहीसहित मातहत इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सुर्खेतस्थित सान्नेघारीको जङ्गलमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए । त्यसैगरी, अस्थायी प्रहरी चौकी लगामबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–१ सुर्खेत धामिसेनस्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा १२ थान र प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका–१ सुर्खेतस्थित ज्यामिरेको जङ्गलमा लुकाइछिपाइ राखेको एक थान भरुवा बन्दुक गरी जम्मा १८ नाल भरुवा बन्दुक फेला पारेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।  उनका अनुसार फेला पारिएका भरुवा बन्दुक रितपूर्वक बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।