जानकी पन्थको तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ सार्वजनिक (भिडियो)

काठमाडौं - यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।

तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो। यो नै तीज गीतको मूल मर्म हो । तर पछिल्ला केही वर्षमा तीजका गीतमा यी कुराहरु समेटिएको पाईंदैन ।

धेरै गीतहरु भ्यूजमूखी मात्र छन् । रातो सारी लाएर नाचेका भिडियो अपलोड गर्दै तीज नाम दिइएको हुन्छ । सबैमा यो लागू भएको हुँदैन । अझै पनि तीजको मर्मलाई जीवन्त राख्दै बनेका गीत पनि सार्वजनिक भएका छन् ।

यहीमध्ये विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी गीतकार तथा संगीतकार जानकी पन्थले पनि यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छिन् ।

म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द र संगीत जानकीकै रहेको छ । लोकप्रिय गायिका अस्मिता अधिकारी र अलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भन्डारीको संगीत संयोजन रहेको छ।

गीतले बोकेको शब्द भाव उच्च र फराकिलो प्रकारको छ । गीतमा एकातिर काठमाडौंमा लामो समयसम्म भाडामा बस्नुपरेको र आफ्नो एउटा घर जोड्न नसक्दाको पिडालाई समेटिएको छ भने अर्कोतिर तराइजस्तो उर्वर भुमी बाझो राखेर शहरमा अर्काको घरमा भाडामा बस्नुको औचित्य नरहेको सकारात्मक सन्देश दिन खोजिएको छ।

आँखाभरी कयौ सपना सजाउदै मनभरी अनेक रहर बोक्दै शहर छिर्छ मान्छे । एउटा आफ्नो घर बनाउला सुन्दर सानो संसार सजाउला भन्ने रहर अनि सपना जो कोहीको हुन्छ। तर,सबै सपना पूरा कहाँ हुन्छन् र? तिनै सपना पूरा नहुदाको पीडा अनि भाडाकै घरमा जिन्दगी बिताउनुपर्दाको बाध्यतालाई जिवन्त बनाएको छ ‘अब त चाहियो काठमाडौंमा घर’ ले।

गीतको भिडियोले पनि गीतको मर्मलाई मुर्त रुप दिएको छ। कलाकारहरु अनु शाह र एसराज गराचको प्रभुख अभिनय तथा नृत्य रहेको यश गीतमा बालकलाकारहरु हृदया र आदित्यलाई पनि देख्न सकिन्छ ।

सुब्रत आचार्यको निर्देशन सन्तोष राजबाहकको नृत्य निर्देशन रहेको छ ।मोहन राईले नृत्य संयोजन गरेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन्। विष्णु खड्काको सम्पादन रहेको यस गीतको भिडियोलाई सेलीब्रेसन हाइट, सुकेधारा र टिकाथली आसपासका क्षेत्रमा छायांकन गरिएको हो।

भिडियोमा लामो समय भाडामा बसेका दम्पतीहरुको व्यथालाई देखाइएको छ। गीतकी सर्जक जानकी भन्छिन् ‘सधैं गरगहना नयाँ सारीको मात्र माग कति गर्नु ? घर पाए त गहना पनि चाहिदैन लुगा बरु पुराना लगाउँला। तर आफ्नो नै हो है अब यहाँबाट अन्त सर्न पर्दैन है भन्ने एउटा आभास भने चाहिने रैछ। यो कुरा म लगायत भाडाको घरमा बस्ने अन्य धेरैले महसुस गर्नुभएको होला । हामी सबैको कथा-व्यथा बोकेको तीज गीत हो। सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु।’