१० हजार मेगावाट बिजुली भारतले किन्ने, नेपाल क्षेत्रीय पावर हब बन्ने सम्भावना !

काठमाण्डौँ - भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार यो सहमति भएको हो । दाहाल चार दिने भ्रमणमा अहिले भारतमा छन् ।

विद्युत बजार सुनिश्चित बनेसँगै लगानीकर्ता तथा निजी क्षेत्रमा थप उत्साह देखिएको छ । यो सहमतिले नेपाललाई दक्षिण एसियाकै क्षेत्रीय पावर हब बनाउने अवधारणा पूरा हुने भन्दै सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन् । यो अवसर पाएपछि नेपालले थप विद्युत उत्पादनका लागि आयोजनाहरुको पीपीए अगाडि बढाउनुपर्ने देखिन्छ ।

अहिलेसम्म नेपालमा उत्पादन भएको बिजुलीले बजार पाउन नसक्ने हो कि भन्ने चिन्ता थियो । तर, अब भारतले नेपालमा उत्पादित बिजुली खरिद गर्ने सम्झौता गरेपछि विद्युत बजारले सुनिश्चितता पाउने देखिएको हो । नेपालमा भारतीय लगानीमा अरुण तेस्रो तल्लो अरुण र अब फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण हुनेछन् ।

भारतीय बजारसँग जोडिन नेपालमा अन्तरदेशीय प्रसारणलाइन पनि तयार भइरहेको छ। विद्युत निर्यातका लागि प्रसारणलाइनको विकासले मद्दत पुग्नेछ । हाल नेपालले ढल्केबर मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत कारोबार गरिरहेको छ ।

चार अन्य प्रसारणलाइन विकासको कार्य अघि बढाइएको छ ।  यी प्रसारणलाइनबाट २ हजार मेगावाट विद्युत कारोबार गर्न सकिनेछ । सन् २०२८ सम्ममा नयाँ बुटवल गोरखपुर, इनरुवा(पूर्णिया अनि लम्की बरेली प्रसारणलाइन पनि ४०० केभी बनाउने योजना छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका उपाध्यक्ष गणेश कार्कीले विहीवार भएको सम्झौताले अब विद्युतीय बजार सुनिश्चित भएको भन्दै यसले निजी क्षेत्रलाई लगानी गर्न उत्साह थपिने बताए । यो समाचार कारोबार दैनिकमा छ ।