SHARE
Samata Press · बुधबार २४ भौ २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

 सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ : मन्त्री यादव

काठमाडौं । ग्यास उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी राज्यलाई नै अटेरी गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले देशमा सञ्चालित सबै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । बुधबार संघीय संसदअन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले असहयोग भएको भन्दै आवश्यक परे हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने अवस्था आएको बताएकी हुन् । बैठकमा मन्त्री यादवले पैसा तिरेर पनि जनताले ग्यास नपाउनु देशकै लागि लज्जाजनक विषय भएको बताइन् । उनले ग्यास उद्योगीले सरकार र आयल निगमलाई टेर्न छाडेको आरोप लगाइन । ‘हाम्रो जस्तो देशमा दुईवटा भन्दा बढी ग्यास उद्योग चाहिएकै छैन, धेरैमा दुईटा भए पुग्छ, सबै खारेज गर्नुपर्छ,’ मन्त्री यादवले भनिन्, ‘मैले पनि हात जोडेरै सबैलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनुस्, सबै उद्योगीलाई राखेर हात जोड्दा पनि नहुँदो रहेछ ।’ मन्त्री यादवले काठमाडौं उपत्यकाका लागि पठाइएका ग्यास सिलिन्डर बजारमा नपुगी बाटैबाट गायब हुने गरेको पनि बताइन् ।