SHARE
Samata Press · बिहीबार ११ मंिर २०८३ ०९:५६ PM · 1 मिनेट पढाइ

चिठी पत्रको सीमाबाट नागरिकको घरदैलोसम्म: मनमाया पङ्गेनीको दुई वर्षे हुलाक सुधार यात्रा

काठमाडौँ । कुनै समय चिठी पत्र ओसारपसार गर्ने निकायका रूपमा मात्र बुझिने हुलाक सेवा अहिले नागरिकका घरदैलोसम्म सरकारी सेवा पुर्‍याउने माध्यमका रूपमा अघि बढ्न थालेको छ । राहदानी, मोबाइलको सिम कार्ड र सवारी चालक अनुमति पत्रजस्ता महत्त्वपूर्ण कागजात घरमै पुर्‍याउने अभ्यासदेखि दुर्गम क्षेत्रसम्म सेवा विस्तार, अन्तर्राष्ट्रिय सहकार्य र हुलाक टिकटमार्फत देशको पहिचान विश्वसामु चिनाउने प्रयाससम्मका कामले हुलाकको परम्परागत परिचय बदल्ने सङ्केत गरेका छन् । तर यो परिवर्तन सहज थिएन । लामो समयदेखि प्राथमिकतामा पर्न नसकेको, जनविश्वास गुमाउँदै गएको र कर्मचारीसमेत जान नचाहने निकायका रूपमा हुलाक सेवा विभागले अनेक चुनौती सामना गरिरहेको थियो । यही अवस्थामा विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालेकी सहसचिव मनमाया पङ्गेनीले दुई वर्षे कार्यकालमा हुलाकलाई पुनः चलायमान बनाउने प्रयास गरेकी छन् । महानिर्देशकको जिम्मेवारीबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएकी पङ्गेनीको दुई वर्षे कार्यकालमा हुलाकलाई नागरिकसँग पुनः जोड्ने, सरकारी सेवाको पहुँच घरदैलोसम्म पुर्‍याउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको हुलाक सेवाको सम्बन्ध सुधार गर्ने कामलाई कार्यकालमा प्राथमिकता दिइएको छ । उनले आफ्नो कार्यकाललाई व्यक्तिगत प्रयासभन्दा पनि सामूहिक माया, अपनत्व, समन्वय र सहकार्यबाट अघि बढेको सुधारको यात्राका रूपमा चित्रण गरेकी छन् । तीनै तहका सरकार, सरकारी निकाय, विश्व हुलाक सङ्घ, एसिया प्रशान्त हुलाक सङ्घ, हुलाककर्मी र नागरिकको साथले काम गर्ने वातावरण बनेको उनको भनाइ छ । उपेक्षित अवस्थाबाट नेतृत्व सम्हाल्दा चुनौती र अवसर पङ्गेनीले हुलाक सेवा विभागको  महानिर्देशकको जिम्मेवारी सम्हाल्दा संस्थाको अवस्था चुनौतीपूर्ण थियो । हुलाकको प्राविधिक प्रकृति र कामको दायरा बुझ्न तथा अध्ययन गर्न उनलाई तीन महिना लागेको थियो । नेपालमा हुलाक घरको स्थापना विसं १९३५ मा भएको हो  तर समय क्रममा विभिन्न स्वार्थ समूहले आफ्नो फाइदाका लागि हुलाकलाई नागरिकसँग जोड्नेभन्दा टाढा बनाउने काम गरे । त्यसको परिणामस्वरूप कुनै समय राज्यको महत्त्वपूर्ण निकायका रूपमा रहेको हुलाक सेवा उपेक्षित अवस्थामा पुग्यो, नागरिकको विश्वास गुम्यो, कर्मचारी जान चाहेनन्, र नेतृत्वले समेत पर्याप्त ध्यान नदिने अवस्था बन्यो । हुलाकको यस्तो अवस्था नेपालमा मात्र सीमित थिएन । संसारका अन्य देशले हुलाकलाई राज्यको मुटुका रूपमा लिने गरेको र सोहीअनुसार स्रोतसाधन तथा जनशक्तिलाई प्राथमिकतामा राखेर परिचालन गर्ने गरेको छन् । राज्य जन्मदेखि मृत्युसम्म नागरिकसँग जोडिएजस्तै राज्यबाट प्रदान हुने हरेक सेवा हुलाकमार्फत नागरिकसम्म पुर्‍याउने अभ्यास अन्य देशमा रहेको छ । नेपाल विश्व हुलाक सङ्घको सदस्य भएर पनि १९२ देशसँग रहेको पहुँचलाई प्रभावकारी सहकार्यमा रूपान्तरण गर्न नसकेको पङ्गेनीको भनाइ छ । ती देशले उपलब्ध गराएका सेवाबापत तिर्नुपर्ने टर्मिनल ड्यु समयमै भुक्तानी नगर्नु, विमान कम्पनीसँगको सम्बन्ध प्रगाढ बनाउन नसक्नुजस्ता कारणले अन्तर्राष्ट्रिय हुलाक सेवासँग नेपालको सम्बन्धसमेत कमजोर बन्दै गएको उनले बताइन् । यसरी केही सुधारका प्रयास सुरु भए पनि गति लिन नसकेको जोखिमपूर्ण अवस्थामा उनले नेतृत्व सम्हालेकी थिइन । त्यसैले चुनौतीसँगै काम गरेर देखाउने अवसर पनि उत्तिकै उनको काँधमा आएको थियो । चिठी पत्रबाट सरकारी सेवा घरदैलोसम्म सूचना प्रविधिको तीव्र विकाससँगै संसारका हुलाक सेवा समृद्ध हुँदै गएको अवस्थामा हुलाकलाई पनि आधुनिक, विविध सेवायुक्त र नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता पङ्गेनीले औँल्याएर अघि बढिन् । हुलाकको आधुनिकीकरण, सेवाको विविधीकरण र प्रक्रियाको सरलीकरणलाई केन्द्रमा राखेर पुनर्संरचना तथा पुनर्जागरणको काम अघि बढाइन । नेपालको संविधानले हुलाकलाई सङ्घको एकल अधिकार सूचीमा राखेको छ । यसका साथै हुलाक सेवा विश्वव्यापी सार्वजनिक सेवा दायित्वअन्तर्गत अत्यावश्यक सेवाका रूपमा रहेको उनले बताइन । सरकारको शासकीय सुधारको मार्गचित्रको बुँदा नम्बर २७ मा हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा अङ्गीकार गरिएपछि विभागको काममा नयाँ गति मिल्यो । सरकारी निकायबिचको समन्वय र सहजीकरण बाट नागरिकका खुसीका कागजात, पार्सल र द्रुत डाक घरदैलोसम्म पुर्‍याउने काम सुरु भयो । पङ्गेनीको दुई वर्षे कार्यकाल अवधिमा नै राहदानी (पासपोर्ट), मोबाइलको सिम कार्ड, सवारी चालक अनुमति पत्रलगायतका कागजात नागरिकको घरमै पुर्‍याउने अभ्यास सफल भइसकेको छ । यसले हुलाकलाई चिठी पत्र बोक्ने परम्परागत संस्थाबाट सरकारी सेवा नागरिकसम्म पुर्‍याउने माध्यमका रूपमा विकास गर्ने सम्भावना देखाएको छ । यस कामका लागि विभागले तीनै तहका सरकार तथा विभिन्न मन्त्रालय, विभाग र कार्यालयसँग समन्वय गरेको थियो । प्रदेश सरकार र स्थानीय तहका निकायले पनि नजिकबाट सहयोग तथा सहकार्य गर्न थालेपछि हुलाककर्मीलाई नागरिकको घरदैलोसम्म पुग्न सहज भएको थियो । यसरी सरकारी सेवा नागरिकको घरसम्म पुर्‍याउने अभियानले हुलाककर्मीमा पनि कामप्रतिको अपनत्व र उत्साह बढायो । हरेक दिन नागरिकको दैलोमा विभिन्न सेवा लिएर पुग्ने आकाङ्क्षाले कर्मचारीमा नयाँ ऊर्जा थप्यो । १४७ वर्षको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय सम्मान हुलाक सेवाको परम्परागत कार्यक्षेत्रभन्दा बाहिर निस्केर नागरिकको घरदैलोसम्म सेवा पुर्‍याउने प्रयासले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको पहिचान स्थापित पङ्गेनीकै कार्यकालमा गरेको छ । नेपाल हुलाकले १४७ वर्षको इतिहासमा पहिलो पटक एसिया प्रशान्त हुलाक सङ्घको १४औँ सम्मेलनका अवसरमा आयोजित ‘बिजनेस फोरम २०२६’ मा सम्मान प्राप्त गरेको छ । दुर्गम क्षेत्रमा घरदैलो सेवा पुर्‍याएको कामका लागि नेपालले ‘एपीपीयू इनोभेसन अवार्ड’ अन्तर्गत ‘आउटस्ट्यान्डिङ इनिसिएटिभ्स सर्भिस इन रिमोट एरियाज’ विधामा सम्मान पाएको छ । थोरै नवप्रवर्तनकारी कामको सुरुवात गर्दा नै अन्तर्राष्ट्रिय मञ्चमा सम्मान प्राप्त हुनुले हुलाक सेवाको सम्भावना देखाएको छ । हुलाकका सेवामा थप विविधीकरण र नवप्रवर्तन गर्न सके भविष्यमा अझ धेरै अवसर खुल्ने पङ्गेनीको भनाई छ । विभागले विभिन्न जिल्लाबाट नमुना कामको सुरुवात गरेको र राम्रो काम गर्ने प्रतिस्पर्धा तथा कामको कदर गर्ने अभ्यास अघि बढाएको छ। यसै क्रममा ‘स्मार्ट पोस्ट’ प्रणालीमार्फत कार्यान्वयनको सुरुवात गरिएको र त्यसलाई संस्थागत सुधारको एउटा आधारका रूपमा विकास गर्न खोजिएको छ । तर सुरु भएका सुधारलाई दिगो बनाउन थप काम आवश्यक रहेको उनको निष्कर्ष छ । विश्व हुलाक सङ्घले उपलब्ध गराएका प्रणालीलाई नेपालले छिटो स्वीकार गरी प्रभावकारी रूपमा सञ्चालन गर्न आफ्नै प्रणालीलाई पनि समृद्ध र निरन्तर अद्यावधिक गर्नुपर्ने उनले औँल्याएकी छन् । त्यसका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्नुपर्ने र स्रोत अभावका कारण सुधारका काम रोकिने अवस्था आउन नहुने उनको जोड छ । अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक व्यवस्थापनमा सुधारको आवश्यकता नेपाल विश्व हुलाक सङ्घको सदस्य भएकाले विश्वका १९२ देशसँग हुलाक सेवाको पहुँच रहेको छ । त्यसै गरी एसिया प्रशान्त हुलाक सङ्घका ३२ देशका महानिर्देशक तथा प्रमुख कार्यकारी अधिकृतसँग पनि सम्बन्ध स्थापित गर्ने काम उनकै कार्यकालमा भएको छ । तर अन्तर्राष्ट्रिय पहुँच हुनु मात्र पर्याप्त नहुने उनको अनुभव छ । विदेशबाट प्राप्त हुने हुलाक सेवासँग सम्बन्धित भुक्तानी समयमै मिलान गर्नुपर्ने, विमान कम्पनीलाई पार्सल ढुवानीबापतको रकम समयमा भुक्तानी गर्नुपर्ने र अन्तर्राष्ट्रिय हुलाक वस्तुको आदानप्रदान सहज बनाउनुपर्ने उनले औँल्याएकी छन् । उनका अनुसार टर्मिनल ड्यु समयमै मिलान गर्न सके राज्य कोषमा प्रत्यक्ष आम्दानी प्राप्त हुनेछ । विमान कम्पनीलाई पार्सल ढुवानीको रकम समयमा भुक्तानी गर्दा संसारसँग नेपालको हुलाक वस्तु आदानप्रदान सहज हुनेछ र निर्यातमा समेत सहयोग पुग्नेछ । हुलाक टिकटको प्रयोगलाई हरेक सेवासँग जोड्न सके भविष्यका पुस्ताले आफ्नो इतिहास र पहिचानलाई अझ सहज रूपमा बुझ्न सक्ने तथा राज्यको राजस्व वृद्धिमा पनि योगदान पुग्ने उनको धारणा छ । पङ्गेनीले हुलाकको आर्थिक तथा कानुनी सुधारका लागि ऐन र महसुल दररेटलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता पनि औँल्याएकी छन् । समयानुकूल ऐन नहुँदा विद्युतीय व्यापारमा हुलाकले गति लिन चुनौती रहेको र महसुल दररेट समयअनुसार पुनरावलोकन नहुँदा घाटा भइरहेको उनको भनाइ छ । त्यसैले हुलाक ऐन छिटो जारी गर्नुपर्ने उनको निष्कर्ष छ । त्यस्तै, दररेट निर्धारण गर्दा तौललाई मात्र आधार नबनाई थोक परिमाणका आधारमा समेत हिसाब गर्ने गरी काम अघि बढाउनुपर्ने उनले बताइन् । देशभित्र र बाहिर पठाइने वस्तुको दूरी तथा दरलाई वैज्ञानिक बनाउनुपर्ने आवश्यकता पनि उनले औँल्याएकी छन् । हुलाक टिकटमा देशको इतिहास, संस्कृति र पहिचान पङ्गेनीको दुई वर्षे कार्यकालमा हुलाक सेवाको सुधारसँगै हुलाक टिकट प्रकाशनलाई पनि विशेष महत्त्व दिइएको देखिन्छ । उनको बुझाइमा हुलाक टिकट कागजको एउटा टुक्रा मात्र होइन, देशको पहिचान, अस्तित्व र बौद्धिक सम्पत्ति अधिकारको प्रमाणसमेत हो । हुलाक टिकटले देशको मौलिकता, संस्कृति, स्वाद, धरोहर, सम्पदा र व्यक्तित्वलाई संसारसामु चिनाउने माध्यमका रूपमा काम गर्न सक्ने उनले बताइन । त्यसैले टिकट प्रकाशन गर्दा पर्याप्त अध्ययन र अनुसन्धान आवश्यक रहेको निष्कर्षमा आफू पुगेको उनको भनाई छ । यही सोचका आधारमा विभागले ऐतिहासिक तथा पुरातात्त्विक धरोहर, सम्पदा र स्थानको खोजीलाई तीव्र बनाएको थियो । विभिन्न कालखण्डमा राज्यलाई योगदान गर्ने तर ओझेलमा परेका व्यक्तित्व तथा ‘भुइँमान्छे’का कथालाई समेत टिकटमार्फत अभिलिखित गर्ने प्रयास सुरु गरिएको उनले बताइन । त्यसै गरी नेपालका सयौँ जातजातिका मौलिक संस्कृति, सङ्गीत, साहित्य, नृत्य, खानपान, रीतिरिवाज, रैथाने जनावर, पशुपक्षी तथा वनस्पतिसम्बन्धी विषयको खोजी गरेर हुलाक टिकट प्रकाशन गर्ने कामलाई विभागले संस्थागत रूपमा अघि बढाएको उनको भनाइ छ । यसले हुलाक टिकटलाई केवल डाक शुल्क तिर्न प्रयोग हुने साधनका रूपमा सीमित नराखी देशको इतिहास, संस्कृति र सामाजिक विविधता अभिलेख गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्य देखाउँछ । संरचना, जनशक्ति र प्रविधिमा सुधार पङ्गेनीले आफ्नो कार्यकालमा हुलाक सेवाको संरचना र जनशक्ति व्यवस्थापनमा पनि सुधारका काम सुरु भएको उल्लेख गरेकी छन् । उनका अनुसार यस वर्ष ९० प्रतिशत हुलाक कार्यालय अधिकृतमुखी भइसकेका छन् । आवश्यक जनशक्ति थपिएको छ भने स्थानीय तहसम्म कार्यालयको पहुँच विस्तार भई वडासम्म सेवा पुर्‍याउन सकिने अवस्था बनेको छ । डाक रेखाको पुनरावलोकन भइसकेको र आन्तरिक डाकको अनुगमन प्रणाली स्तरोन्नति भइरहेको छ  हुलाक कार्यालयमा कार्यरत हलकारा र हुलाकी स्थानीय स्तरकै हुने भएकाले काम गर्न सहज वातावरण बनेको छ । नागरिकको ठेगाना सहज बनाउने काममा नेपाली वैज्ञानिकले सहयोग पनि गरेका छन् । यसले हुलाक वस्तु तथा सरकारी कागजात सम्बन्धित व्यक्तिको घरसम्म पुर्‍याउने कामलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । पङ्गेनीका अनुसार हुलाकको सुधारका लागि विभागले विभिन्न समयमा गरिएका अध्ययन तथा पेस गरिएका प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । अहिले सरकारले हुलाकलाई प्राथमिकतामा राखेको, विभिन्न निकायले सहयोग गर्न थालेको र विभागले सकारात्मक कदम चालेको अवस्थामा सुधारलाई निरन्तरता दिन सके नेपाल हुलाक दिगो र समृद्ध बन्ने सम्भावना रहेको उनको विश्वास छ । उनले हुलाकको संरचना तयार भइसकेको, जनशक्ति थपिएको, कार्यालयको पहुँच स्थानीय तहसम्म पुगेको र सेवा प्रवाहका केही अभ्यास सफल भइसकेकाले अब सुधारका कामलाई गति दिनुपर्नेमा जोड दिएकी छन् । सामूहिक प्रयास र कर्मचारीको योगदान पङ्गेनीले आफ्नो दुई वर्षे कार्यकालमा प्राप्त उपलब्धिलाई व्यक्तिगत प्रयासका रूपमा मात्र लिएकी छैनन् । विभागमा काम गर्ने कर्मचारीदेखि देशभरका हुलाकी, हलकारा, अतिरिक्त हुलाकका कर्मचारी, मन्त्रालय, प्रदेश तथा स्थानीय तहका निकाय र अन्तर्राष्ट्रिय संस्थासम्मको सहयोगलाई उनले सुधार यात्राको आधार मानेकी छन् । आफूले नेतृत्व सम्हालेका सुरुवाती दिनमा हुलाकको काम र प्रणालीबारे सिकाउने सहकर्मीलाई उनले गुरुका रूपमा स्मरण गर्दै उनले आफ्नो कार्यकालका सहयात्रीका रूपमा मानेकी छन् । हुलाक प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षकसहित सबै कर्मचारीले हुलाककर्मीको क्षमता विकासमा सहयोग गरेको भन्दै उनले आभार व्यक्त गरेकी छन् । उनले देशभरका हलकारा, हुलाकी र अतिरिक्त हुलाकी कर्मचारीको भूमिकालाई पनि महत्त्वपूर्ण मानेकी छन् । हुलाक वस्तु इमानदारीपूर्वक सम्बन्धित गन्तव्यमा पुर्‍याउने जिम्मेवारी उनीहरूको काँधमा रहेको र उनीहरूकै कामका कारण हुलाक सेवा राम्रो बन्दै गएको पङ्गेनीको भनाइ छ । अतिरिक्त हुलाकका कर्मचारीका समस्या पनि आफूले उजागर गरेको उल्लेख गर्दै उनले ती समस्या छिट्टै सम्बोधन हुने आशा व्यक्त गरेकी छन् । समग्र हुलाक परिवारका कर्मचारीको सामूहिक हात र योगदानलाई उनले आफ्नो कार्यकालको महत्त्वपूर्ण आधार मानेकी छन् । नयाँ जिम्मेवारी, अधुरा काम र निरन्तरताको अपेक्षा दुई वर्षे कार्यकाल पूरा गरेर अर्को मन्त्रालयमा सरुवा भएपछि पङ्गेनीले आफूले सकेको र आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको बताएकी छन् । कार्यकालमा गरेका कामबाट आत्मसन्तुष्टि प्राप्त भएको उल्लेख गर्दै उनले हुलाक सुधारका लागि बाटो कोरिएको तर बाँकी कामलाई अझ तीव्र गतिमा अघि बढाएर उचाइमा पुर्‍याउने नेतृत्व आउने अपेक्षा व्यक्त गरेकी छन् । अब उनको नयाँ जिम्मेवारी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा हुनेछ । हुलाक सेवा विभागमा सुरु भएका सुधारका कामलाई निरन्तरता दिने नेतृत्व आउने अपेक्षा व्यक्त गरेकी पङ्गेनीले आफ्नो कार्यकालमा कोरिएका बाटालाई अझ गति दिनुपर्ने सन्देश पनि दिएकी छन् । उनको दुई वर्षे कार्यकालको विवरणले हुलाक सेवाको चुनौती केवल चिठी पत्रको घट्दो कारोबारमा सीमित नभएको देखाउँछ । संस्थाको जनविश्वास फर्काउने, सरकारी सेवा नागरिकको घरसम्म पुर्‍याउने, अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने, प्रविधि र प्रणाली अद्यावधिक गर्ने तथा देशको इतिहास र संस्कृतिलाई हुलाक टिकटमार्फत अभिलिखित गर्ने काम पनि उत्तिकै महत्त्वपूर्ण छन् । पङ्गेनीले सुरु गरेका सुधारका प्रयास कति दिगो हुन्छन् भन्ने कुरा आगामी नेतृत्वले तिनलाई कसरी निरन्तरता दिन्छ भन्नेमा निर्भर रहनेछ । तर हुलाकलाई चिठी पत्र बोक्ने परम्परागत निकायबाट नागरिकको घरदैलोसम्म सरकारी सेवा पुर्‍याउने संस्थाका रूपमा अघि बढाउने प्रयास र दुर्गम क्षेत्रमा सेवा पुर्‍याएबापत प्राप्त अन्तर्राष्ट्रिय सम्मानले नेपालको हुलाक सेवाको सम्भावनालाई उजागर गरेको छ ।