कांग्रेस केन्द्रीय समिति बैठकमा के-के हुँदैछ ?
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ। बिहीबार कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ। बैठकमा नेताहरूले विस्थापित सुकुम्बासी परिवारलाई अस्थायी आश्रयबाट समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका थिए। कांग्रेसले सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ। ‘सरकारले सुकुम्बासीका घर भत्कायो, व्यवस्थापन र लालपुर्जाको आश्वासन दियो, महिनौँसम्म अनिश्चिततामा राख्यो र आज अस्थायी आश्रयबाट समेत हटाउन खोज्दैछ,’ बैठकको निर्णयबारे कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भनेका छन् । राज्य नागरिकको अभिभावक भएको उल्लेख गर्दै कांग्रेसले घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको उनले बताए। उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नुको सट्टा सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्नुपर्ने कांग्रेसको माग छ। ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या दमन र विस्थापनबाट होइन, न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गरिनुपर्छ। सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेसले भनेको छ। यसैगरी, कांग्रेसले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन्। मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। धारणा राख्ने क्रम जारी रहेकाले बैठक मंसिर ११ गते शुक्रबार बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।