बाल संवेदनशील पत्रकारितामा जोड, १३ सदस्यीय बालमैत्री पत्रकार समूह गठन
काठमाडौँ । बालबालिकासम्बन्धी समाचार तयार पार्दा उनीहरूको सर्वोत्तम हित, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । जोखिममा रहेका बालबालिकालाई समाचारका कारण थप मनोवैज्ञानिक आघात पुग्न नदिन पत्रकार र सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा ललितपुरको गोदावरीमा आयोजित दुई दिने ‘बाल संवेदनशील पत्रकारिता’ विषयक अभिमुखीकरणका सहभागी तथा वक्ताले जोड दिएका हुन् । बाल अधिकारको संरक्षण र संवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई केन्द्रमा राखेर मङ्सिर ८ र ९ गते आयोजित अभिमुखीकरणमा बालबालिकाको मर्यादा, गोपनीयता र सुरक्षा सुनिश्चित गर्दै जिम्मेवार पत्रकारिता गर्ने विषयमा छलफल गरिएको थियो । अभिमुखीकरणमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) नेपालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा बालबालिकाको अवस्था, बाल अधिकारका आधारभूत सिद्धान्त, बाल संरक्षण प्रणाली, विपद्मा बालबालिकामा परेको प्रभाव तथा सञ्चारकर्मीले उठाउनुपर्ने सवालबारे प्रस्तुतीकरण दिएका थिए । उनले बालबालिकासम्बन्धी नीतिगत व्यवस्था, दिगो विकास लक्ष्य तथा स्थानीय तहमा रहेका बाल संरक्षण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । दिगो विकासका १७ लक्ष्यमध्ये लक्ष्य १, २, ३, ४, ५, ६, ९, ११, १६ र १७ गरी १० वटा लक्ष्य बालबालिकासँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै उनले राष्ट्रिय योजना तथा कार्यक्रममा बालबालिकाका सवाललाई प्राथमिकता दिनुपर्ने बताए । पौडेलले सोह्रौँ योजनामा बालबालिकासम्बन्धी समावेश गरिएका परिमाणात्मक लक्ष्य, स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ तथा बालबालिकाको क्षेत्रमा भएका उपलब्धिलाई महत्त्वका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राखे । उनका अनुसार बालबालिकाका सवालमा बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता चार प्रमुख आधार हुन् । बालबालिकाको तथ्याङ्क व्यवस्थापन, बाल संरक्षण संयन्त्र तथा बालबालिकासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिगत एवं कानुनी दायित्व र प्रतिबद्धता कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनले बताए । विशेष गरी भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित छ जिल्लाका बालबालिकाको अवस्थालाई उनले बाल संरक्षणको महत्त्वपूर्ण सवालका रूपमा प्रस्तुत गरे । बाढीका कारण बालबालिकामा परेको प्रभाव, उनीहरूको मानवीय अवस्था, जोखिममा रहेका बालबालिकाको पहिचान र आवश्यक सेवाको उपलब्धतामा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो । बालबालिका जोखिममा परेको अवस्थामा स्थानीय तहमा रहेका बाल संरक्षण प्रणाली सक्रिय हुनुपर्ने र सम्बन्धित निकायबिच समन्वय आवश्यक रहेको उनले बताए । सञ्चारीका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतले बालबालिकासम्बन्धी समाचारमा संवेदनशीलता किन आवश्यक छ भन्ने विषयमा प्रस्तुतीकरण दिँदै उनीहरूको मर्यादा, गोपनीयता र मनोवैज्ञानिक सुरक्षाको रक्षा गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताइन् । उनले बालिका तथा किशोरीका सवालमा लैङ्गिक उत्तरदायी पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन् । भेदभावरहित बालापन सुनिश्चित गर्न घरपरिवारका सबै सदस्य जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । बस्नेतले पीडित केन्द्रित समाचारभन्दा पीडक केन्द्रित समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरिन् । सामुदायिक सूचना नेटवर्क (सीआईएन) अकोराबका सम्पादक लिलप्रकाश चन्दले बालबालिकालाई केवल पीडित वा असहाय पात्रका रूपमा मात्र प्रस्तुत नगरी समाधानमुखी र जबाफदेही पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले बालबालिकाका सबल पक्षको पहिचान र सकारात्मक सोचको विकासका विषयमा अभिमुखीकरण दिएका थिए । प्रशंसनीय खोज पद्धतिमा आधारित समाचार लेखन तथा सामग्री सङ्कलन गर्नुपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पनि बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान गर्दै उनीहरूको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर समाचार सङ्कलन तथा सम्प्रेषण गर्नुपर्ने बताए । उनले डिजिटल पत्रकारिताका विषयमा अभिमुखीकरण दिएका थिए । अभिमुखीकरणका अवसरमा नागरिक दैनिकमा कार्यरत पत्रकार सुभद्रा धितालको संयोजकत्वमा १३ सदस्यीय ‘बालमैत्री पत्रकार समूह’ गठन गरिएको छ । समूहको सहसंयोजकमा रातोपाटीमा कार्यरत पत्रकार नरेन्द्र रौले चयन भएका छन् । समूहका सदस्यमा उमा शर्मा, विनोद देवकोटा, कृषला भण्डारी, शिव गौतम, सपना बोहरा, सुरेशप्रसाद सैँजु, पवित्रा मुडभरी, मनीषा बस्नेत, टोपेन्द्र रोका मगर, सत्यराज भट्ट र दानिसराज अन्सारी चयन भएका छन् । कार्यक्रममा सहभागी पत्रकारले पत्रकारितामार्फत बालबालिकाका सवाल उठान गर्दा उनीहरूको सर्वोत्तम हितलाई सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए । बालबालिकासँग सम्बन्धित समाचार तयार पार्दा पेसागत मर्यादाको ख्याल गर्दै उनीहरूको मर्यादा, गोपनीयता र सुरक्षामा आँच आउन नदिने विषयमा पनि सहभागी एकमत भएका थिए । जोखिममा रहेका बालबालिकालाई समाचारका कारण थप मनोवैज्ञानिक आघात पुग्न नदिन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने विषयमा उनीहरूले गम्भीरता व्यक्त गरेका थिए । सिजप नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र प्लान इन्टरनेसनलको सहकार्यमा आयोजित अभिमुखीकरणमा ३९ जना पत्रकार सहभागी थिए । कार्यक्रममा सहभागीलाई चार समूहमा विभाजन गरी बाल अधिकारको संरक्षण र संवर्द्धनका लागि बाल संवेदनशील पत्रकारिताका विषयमा छलफलसमेत गरिएको थियो ।