भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन
चितवन : चितवनका मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच थिचेर संयुक्त रूपमा ट्राफिक बत्ती सञ्चालनमा आएको घोषणा गरे । नारायणगढको पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक बत्ती जडान गरिएको छ ।