'गठबन्धन अवधिभर दाहाल नै प्रधानमन्त्री हुनेछन्' : कांग्रेस

काठमाडौँ - सत्ता साझेदार दल नेपाली कांग्रेसले सत्ता गठबन्धनबीचको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहिरहने प्रष्ट पारेको छ ।  केन्द्रीय कार्य समिति बैठकका निर्णय आइतबार दिउँसो सानेपामा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रचण्ड नै प्रधानमन्त्री रहने कुरामा कुनै समस्या नरहेको स्पष्ट पारे ।


उनले मन्त्री हेरफेरको विषय पनि प्रधानमन्त्रीमा निहित रहेको बताएका छन् । ‘मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीको तजबिजमा भर पर्छ । प्रधानमन्त्रीले अहिलेसम्म मन्त्री फेरौँ भनेर प्रस्ताव ल्याउनु भएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीलाई काम गर्न असहज भएमा मन्त्री फेर्ने कुरामा कांग्रेस तयार छ । तर अहिलेसम्म यसबारे औपचारिक रुपमा कुरा भएको छैन ।’ प्रचार विभाग प्रमुख विश्वकर्माले लोकतन्त्रमा स्थिर सरकार नहुने तर्क गरे । उनले तानाशाही व्यवस्थामा मात्रै त्यो सम्भव हुने बताउँदै बहुमतको सरकार हुँदा पनि तलमाथि भइरहने जवाफ दिए ।


‘लोकतन्त्रिक व्यवस्थामा सरकारको कुर्सीको तीन मात्रै खुट्टा हुन्छन् । बहुमतमा या गठबन्धनमा हुने एकै हो । केपी शर्मा ओली नेतृत्वको सरकार करिब दुईतिहाइको थियो । अहिले गठबन्धनको छ । लोकतन्त्रमा स्थिर सरकार सम्भव छैन, त्यो निरंकुशतामा मात्रै हुन्छ’, उनले भने, ‘लोकतन्त्रमा जोसुकैले सरकार ढाल्छु भन्न पाउँछ । हाम्रा महामन्त्री गगन थापाले पनि भन्नु भएको हो । प्रचण्डजी गठबन्धन सरकारको प्रधानमन्त्री हो । त्यसैले यो गठबन्धन तलमाथि नभएसम्म उहाँ प्रधानमन्त्री यथावत हो ।’