गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा - जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।