'जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउँछु' : अर्थमन्त्री पुन

काठमाडौँ-अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई राखेर शनिबार बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका हुन् ।

मन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिए । उत्पदान वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने बताए ।

 ‘त्यसका लागि उत्पादनमुलक उद्योग प्रवद्र्धनमा लगानी र निर्यात प्रवर्द्धनलाई जोड दिनुपर्ने उनको भनाइ थियो । अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्ता साझेदार दलहरुबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरुसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न भने । मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिए। त्यसका लागि सम्वद्ध निकायहरुबीच अन्तरसन्ध स्थापनामा निरन्तर संवाद हुनुपर्ने बताए ।