नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चल्यो : सांसद पन्त

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले २० हजार ट्रकले काम नपाउँदा पनि सरकार मौन रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले ट्रकसँग आबद्ध ८० हजारभन्दा बढी कामदारले काम पाउन छाडेको बताए ।

नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चलेको उनको जिकिर छ । भारतमा नेपाली ट्रकले निर्बाध अनुमति नपाउने उनले उल्लेख गरे । नेपालमा भारतीय ट्रकलाई अनुमति दिनु कति उपयुक्त हो भनी उनले प्रश्न गरे ।

उनले नेपाली ट्रकले ढुवानीमा सरकारलाई भ्याट बुझाउने गरेको बताए । भारतीय ट्रकले नेपाल प्रवेश गर्दा ट्याक्स नतिरेको उनले उल्लेख गरे । भारतीय ट्रकले नियम उल्लंघन गर्दा पनि प्रहरी प्रशासनले नदेखेजस्तो गरेको उनले आरोप लगाए ।