बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका ‘पीएसओ’ निलम्बित

काठमाडौँ - सरकारले हिजोको बालकुमारी घटनामा संयमता अपनाउन नसकेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी उमेश जोशी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो । फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओलाई निलम्बन गर्ने निर्णय भएको गृहमन्त्री श्रेष्ठले जनाए ।

यस्तै ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेड क्वार्टर र सीडीओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ । यस्तै इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।