मुख्यमन्त्री जमकट्टेलसहितको टोली संघिय राजधानीमा, संघीय ऐनलाई छिट्टै टुंगोमा पुर्‍याउँने प्रधानमन्त्रीको बाचा 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक संघीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले संघीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान संघीयताको कार्यान्वयनमा केन्द्रित भएको बताए ।

उनले भने, “तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै संघीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति संघर्ष गरेको थिएँ, त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको छु, नेतृत्व लिएको छु, त्यसैले संघीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो ।” उनले संघीय संसद्मा सहभागी सबै दललाई पनि सहमत गराएर संघीयतालाई कायान्वयन गर्न खोज्दा केही समय लागेको बताए ।

“वर्तमान सरकारले संघीय निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐनलगायत संघीयता कार्यान्वयनसम्बन्धी ऐन निर्माणका लागि द्रुत गतिका साथ काम गरिरहेको यहाँहरुलाई जानकारी नै छ”, प्रधानमन्त्री दाहालले भने, “विधेयकहरू प्रस्तुत पनि भइसकेका छन्, अब छलफलको माध्यमबाट त्यसलाई निष्कर्षमा लैजान बाँकी छ । शीर्ष तहमा छलफल गरेर त्यसलाई टुंगो लगाउन थप पहल गर्नेछु ।”