आजदेखि यूएईमा कोप-२८ सम्मेलन, प्रधानमन्त्री दाहालको कार्यक्रम तालिका के छ ?

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स युएई पुगेका छन् । 

प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट गएराति दुबई पुगेका हुन् । गएराति १ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षत्रीलगायतले स्वागत गरेका छन् ।

आजदेखि कोप–२८ दुबईमा हुँदैछ। प्रधानमन्त्री प्रचण्ड मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुँदैछन् । उनले मङ्सिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ  ।
प्रधानमन्त्री प्रचण्ड युएईको ५२औँ एकता दिवसका अवसरमा आयोजना गर्ने समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै उच्च पदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्दैछन् ।