दसैँका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याइने

काठमाण्डौँ - सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ र तिहारलाई लक्षित गरेर काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने तयारी गरेको छ । कम्पनीले एक हजार च्यांग्रा र दुई हजार खसी–बोका ल्याउने तयारी गरेको हो । 

दसैँलक्षित चौपाया खरिदका लागि आन्तरिक तयारी भइरहेको एक हप्तापछि पक्रिया अघि बढाउने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् ।
व्यापार कम्पनीले खसी–बोका र च्यांग्राका लागि आठ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ । 

त्यसमध्येबाट तीन करोड ४२ लाखबराबरको खसी तथा बोका र चार करोड ९१ लाखबराबरको च्यांग्रा ल्याउने कम्पनीको योजना छ । घटस्थापनाका दिनसम्म खसी–बोका र च्यांग्रा ल्याइनेछ । कम्पनीले गत वर्ष जिउँदो खसी प्रतिकिलो पाँच सय ७० रुपैयाँ, बोका पाँच सय ५५ रुपैयाँ र च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँले बिक्री गरेको थियो ।

व्यापारीले ४० हजार खसी–बोका ल्याउने 
दसैँलाई लक्षित गरेर व्यापारीहरूले ४० हजार खसी–बोका ल्याउने भएका छन् । उपत्यकाको माग धान्न व्यवसायीले अघिल्लो वर्षको भन्दा पाँच सय हाराहारी संख्या बढाएर खसी–बोका ल्याउने तयारी गरिरहेको चौपाया खरिद–बिक्री संघका अध्यक्ष दीपक थापाले बताए । अघिल्लो वर्ष ३० देखि ३५ हजारको संख्यामा ल्याइएको व्यापारीको भनाइ छ । 

खाद्य व्यापार कम्पनीले दसैँलक्षित सहुलियत पसल असोजको तेस्रो सातादेखि सुरु गर्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लालाई केन्द्रित गरेर सातदेखि नौवटा स्थानमा सहुलियत पसल राखिने कम्पनीले जनाएको छ ।