लागुऔषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक छ : अध्यक्ष नेपाल  

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागुऔषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताएका छन्।

दोलखामा रहेको गाईखुरा युवा क्लबले आज यहाँ आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागुऔषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताए।

उनले भने, “पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ। त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरु त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ।” लागुऔषध दुर्व्यसनका कारण युवाहरुले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उनले यसविरुद्ध सबै एकजुट हुन आग्रह गरे।

उनले लागुऔषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिष्कार गर्नुपर्ने आवश्यक रहेको बताए। यसका लागि कठोर कानून आवश्यक रहेको उनको भनाइ थियो।