माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड  

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास जारी रहेको बताएका छन् ।

आज नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी र एकीकृत समाजवादी अहिले पनि समाजवादी मोर्चामा सँगै रहेको र मोर्चा हुँदै कम्युनिस्ट आन्दोलनको एकता कायम गर्ने उद्देश्यमा समान धारणा रहेको बताए । उनले कम्युनिस्टहरूले निराशावादी भएर सोच्न नहुने टिप्पणी गरे । 

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीको राजनीतिक दस्तावेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति पनि जनाए । उनले विभिन्न राजनीतिक शक्तिहरूको मूल्याङ्कन गर्दा माओवादीलाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘तपाईँहरूले विभिन्न राजनीतिक शक्तिहरूको मूल्याङ्कन गर्दा हामीलाई अलि नजिकको शक्ति पनि भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर पनि भन्नुभएको छ । हरेक राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ । आज नेपाल संविधान सभामा गयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रिया भयो । समृद्धिको अलि नयाँ अभियान चलेको छ । प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । अस्थिर नभएको भए यो प्रक्रियामा हामी यहाँ आइपुग्ने पनि थिएनौँ ।’