भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताए ।

आज काठमाडौँमा पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विना पैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको टिप्पणी गरे । उनले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । उनले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ । विना पैसाको कुनै काम हुँदैन । त्यसैले यो बेथितिको कसरी अन्त्य गर्ने भन्नेबारे सोच्न जरुरी छ । उत्पादनको विकास गर्नका लागि, रोजगारी प्रवर्द्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिङ्गो अर्थतन्त्रलाई उँभो उठाउनका लागि गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ ।’