काभ्रेस्थलीमा गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु, पाँच जना घाइते

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थली भेडीगोठ सरकारी धारानजिक गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

बा.४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर– २ काभ्रेस्थलीकी २७ वर्षीया रमिता तोलांगीको मृत्यु भएको छ । 

घाइते तोलांगीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। 

दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौँको तारकेश्वर– २ का गाडीचालक २६ वर्षीय सुशील दमाईं, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तामाङ,  २६ वर्षीय गोपाल दमाईं, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र १८ वर्षीया पवित्रा तोलांगी घाइते भएका छन्। उनीहरूको जरंखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए।