हिमाल सफाइका गर्ने क्रममा भेटियो चार जनाको शव, ११ टन फोहर संकलन

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले बुधबारसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार बुधबार मात्रै दुईवटा शव निकालेर काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।

सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मि) र ल्होत्से क्याम्प–४ ईलाका (७९०० मि) मा रहेका दुईवटा शवलाई बुधबार हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको निर्देशनालयले जनाएको छ ।

गत चैत २९ गते सुरु भएको अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलोग्राम फोहर, चारवटा मानव शव तथा केही मानव अस्थिपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।