नेकपा एसको महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

 काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औं राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ ।

सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको हो । पार्टीका सबै कमिटीमा आबद्ध नेता तथा सम्बन्धित भूगोलमा अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाले परिपक्व नेतृत्व स्थापित गर्न सहयोग पुग्ने पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्य व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहितका कार्य गर्दै आएको छ । सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउन तथा सदस्यहरु विस्तार गर्न सदस्यता शुल्क, ‘लेबि’ लाई व्यवस्थित गराउने र कार्यालय व्यवस्थापनको लागि सम्पर्क मञ्चहरु र सम्बन्धित कमिटीलाई आवश्यकताअनुसार दायित्व तोक्न सक्ने व्यवस्था गरिएको छ ।