'अब सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनु पर्छ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनु पर्ने बताएका छन् । २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।’


आफ्नो हिस्साको वर्गसङ्घर्ष आफूले अहिले पनि चलाई नै राखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि वर्ग सङ्घर्ष नै भएको बताए । निराशा बाड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरे ।