गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

 काठमाण्डौँ - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले आज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

सर्वोच्चको पत्र आज मात्रै आइपुगेकोले आजै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोमवार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

मुख्यमन्त्री नियुक्त पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ ।